जनता टाइम्स

२८ चैत्र २०८०, बुधबार १२:५३

कतारमा अलपत्र परे ५५ जना नेपाली कामदार : ५ महिनादेखि पाएनन तलव, खाने दाल-चामल पनि छैन


दोहा, चैत २८ । कतारस्थित इमदाद क्यु अलक्युविदा कम्पनीमा कामका लागि आएका ५५ जना नेपाली कामदार अलपत्र परेका छन । अलपत्र पर्ने ५५ मध्ये कामदारहरूमा २५ जना महिला छन ।

सो कम्पनीले ५ महिनादेखि कामदारलाई तलबसमेत नदिएर अलपत्र पारेको हो । अहिले आएर कम्पनीले कामदारहरूलाई खानासमेत दिन छाडेको पीडितहरुले बताएका छन । काठमाडौंस्थित अल नासेर ओभरसिज म्यानपावर कम्पनीले पठाएका कामदार अलपत्र परेका हुन् ।

पीडितहरुका अनुसार सो म्यानपावर कम्पनीले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतार पठाएको थियो । सो म्यानपावर कम्पनीका सञ्चालक रौतहटका दिनेशकुमार राय हुनुहुन्छ । पीडितहरुका अनुसार अहिले म्यानपावर कम्पनीले कामदारको समस्या समाधान गर्न चासो नदिएको गुनासो गरेका छन । कामका लागि आएका जाजरकोटका कृष्ण विकले कम्पनीले गैरकानुनी हैसियतमा काममा पठाउँदै आएको बताउनु भयो ।

बिक अल नासेर म्यानपावरलाई २ लाख ३० हजार रुपैयाँ तिरेर वेटरको काम गर्न गत नोभेम्बर १० तारिखमा कतार आइपुग्नु भएको थियो । ‘अहिलेसम्म न कतारी आवासीय परिचयपत्र (आईडी) लगाइ दिएको छ । आईडी कार्ड नभए अस्पताल जान पाइँदैन । न बैंकको एटीएम दिएको छ । न तलब दिएको छ । खानासमेत दिइएको छैन,’ उहाँको भनाई छ । बिकले एक जना सहयोगीले खानका लागि दाल र चामल दिएको र त्यो पनि अहिले सकिएको जानकारी दिनुभयो ।

कम्पनीले कामदारको अवस्थाबारे चासो दिएको छैन । तलब नपाएपछि उनीहरूले अप्रिल १ देखि काम गर्न छाडेका छन् । ५ महिनाको अवधिमा एक महिनाको तलब मात्रै पाएको उनीहरूले बताएका छन् । अक्टोबर १५ मा कतार आइपुगेकी पार्वती कुँवरले कम्पनीलाई तलब माग्दा उल्टो डरत्रास देखाउने गरेको गुनासो गर्नुभयो ।

उहाँले अक्टोबर १६ देखि अप्रिल १ तारिखसम्म अलविदा पार्कमा क्लिनरको काम गर्दा १२ सय ३१ रियाल मात्रै तलब पाएको बताउनु भयो । पटक–पटक आफ्ना समस्या सुनाउँदा म्यानपावरले हेलचेक्य्राइँ गर्दै आएको उहाँको भनाई छ ।

पीडितहरुले समस्या समाधान गर्न नेपाली दूतावास र कतारको श्रम अदालतमा गएर उजुरी दर्ता गरेका छन् । गुल्मीका खिमबहादुर वलीले २० महिना काम गर्दा पनि कम्पनीले आईडी कार्ड नदिएको वताउनु भयो । आईडी नहुँदा घर जान नपाएको वलीले बताउनु भयो ।