जनता टाइम्स

३० चैत्र २०८०, शुक्रबार १४:१८

चीनका शीर्ष विधायकको उत्तर कोरियाका वरिष्ठ अधिकारीसँग भेट


सोल, चैत ३० । चीनका एक शीर्ष विधायकले यसै साता प्योङयाङको भ्रमणका क्रममा सहयोगबारे छलफलका लागि उत्तर कोरियाका एक वरिष्ठ अधिकारीसँग भेट गरेको उत्तर कोरियाली राज्य मिडियाले शुक्रबार बताएको छ । उक्त भेट वर्षौंमा दुई सहयोगीबिच सबैभन्दा उच्चस्तरीय भेटमध्येको एक थियो । चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोको शक्तिशाली स्थायी समितिका सदस्य तथा बेइजिङका तेस्रो उच्चपदस्थ अधिकारी झाओ लेजी दुई मुलुकबिचको कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्सवका अवसरमा आणविक हतियार सम्पन्न उत्तर कोरियाको सद्भावना भ्रमणमा हुनुहुन्छ ।

चीन उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण आर्थिक हितैषी र कूटनीतिक सहयोगी हो । उत्तर कोरियाली नेता किम जोङ उनको बढ्दो हतियार परीक्षणको जवाफमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदमा उहाँको शासनमाथि कडा प्रतिबन्ध लगाउने अमेरिकी नेतृत्वको प्रयासलाई रुससँग मिलेर चीनले अवरोध पुर्याइरहेको छ । झाओले बिहीबार उत्तर कोरियाली राजधानी पुगेर आफ्ना समकक्षी चोए र्योङसँग भेट गर्नुभएको केसिएनएले बताएको छ ।

भेटमा उहाँले ‘राजनीति, अर्थतन्त्र र संस्कृतिलगायत सबै क्षेत्रमा आदानप्रदान र सहयोग’ बारे छलफल गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ,‘छलफलका क्रममा आपसी चिन्ताका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाबारे विचार आदानप्रदान भयो ।’ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि कियाङपछि झाओ चीनको तेस्रो उच्चपदस्थ अधिकारी हुनुहुन्छ । राष्ट्रपति सीले अन्तिमपटक उत्तर कोरियाली नेता किमसँग सन् २०१९ मा कोभिड–१९ महामारी सुरु हुनुअघि भेट गर्नुभएको थियो ।

यसबाट झाओ र चोएबीच प्योङयाङको बैठक धेरै वर्षमा सबैभन्दा उच्चस्तरीय बैठकमध्ये एक भएको छ । झाओको भ्रमणमा किमको बेइजिङको आगामी सम्भावित राजकीय भ्रमणको योजना समावेश हुनसक्ने दक्षिण कोरियाली स्थानीय सञ्चारमाध्यममा बताइएको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार दुवै अधिकारीले ‘कोरियाली प्रायद्वीपको अवस्था’ बारे चर्चा गर्नुभयो र झाओले ‘विधायक आदानप्रदान तथा सहयोगलाई गति दिने’ बेइजिङको इच्छा व्यक्त गर्नुभयो ।

‘चोए र झाओले ‘चीन र उत्तर कोरियाबीच कूटनीतिक भिसाको आपसी छुट, क्लासिक कार्यहरूको आपसी अनुवाद र प्रकाशन, भन्सार र क्वारेन्टाइन, रेडियो र टेलिभिज तथा हुलाक एक्सप्रेस डेलिभरी’ का क्षेत्रमा ‘सान्दर्भिक सहयोग दस्तावेजहरूमा’ हस्ताक्षर गर्नुभयो’, सिन्ह्वाले भनेको छ । किमले दक्षिण कोरियाप्रति आफ्नो आक्रामक बयानबाजी बढाउँदै बेइजिङसँगको सम्बन्धलाई बलियो बनाउने प्रयास गर्नुभएको छ ।