काठमाडौं, बैशाख १ । नयाँ बर्षको सुरुवातसँगै क्रिकेटमा नेपाली खेलाडीले सवैलाई उत्साहित बनाएका छन । नयाँ बर्षकै दिन लगातार दोस्रो जीत निकाल्नुका साथै क्रिकेटर दिपेन्द्रसिंह ऐरीले नयाँ इतिहास कायम गरेका छन ।
ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालले नयाँ बर्षकै दिन लगातार दोस्रो जित निकालेको छ । नेपालले दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको हो । नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन मात्र बनाउन सक्यो ।
कतारका लागि कप्तान मोहम्मद तनवीरले सर्वाधिक ६३ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन । मोहम्मद अह्नाफले २३, हिमान्शु राथोड २२ र अदनान मिर्जाले १९ रनको योगदान दिएका छन । बलिङमा नेपालका ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले दुईदुई, अभिनास बोहरा र कुशल मल्लले एकएक विकेट लिएका छन ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २१ बलमा ६४ रनको आक्रामक अविजित खेले । दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका थिए । योसँगै दीपेन्द्रले इतिहास रचेका छन ।
ओपनर आसिफ शेखले ५२, कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, सन्दीप जोराले ७, कुशल भुर्तेलले १२, गुल्सन झाले ५ र विवेक यादवले ५ रनको योगदान दिए । बलिङमा कतारका हिमान्शु राथोडले ३, मुशावर शाहले ३ र अमिर फारुकले एक विकेट लिए । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।
नेपालका अलराउन्डर ऐरी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी बनेका छन् । दीपेन्द्रले कतारविरुद्ध टी–२० आईमा एकै ओभरमा ६ छक्का हाने हानेका हुन । दीपेन्द्र टी–२० आईमा एकै ओभरमा ६ छक्का हान्ने तेस्रो र समग्र अन्तर्राष्ट्रिय क्रिकेटका पाँचौं खेलाडी बनेका छन ।
दीपेन्द्रले ओमानको अल अमरेत क्रिकेट मैदानमा कतारका कमरान खानलाई २० औं ओभरका सबै बलमा छक्का प्रहार गरे । दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रनको इनिङ खेले । उनको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।
दीपेन्द्र नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडीको ताजसमेत पहिरिन सफल भएका छन । दीपेन्द्रले यसअघि सेप्टेम्बरमा मंगोलियाविरुद्ध टी–२० आईमा दुई फरक ओभरमा लगातार ६ बलमा ६ छक्का हानेका थिए । उक्त खेलमा दीपेन्द्रले ९ बलमै क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक प्रहार गरेका थिए । दीपेन्द्रभन्दा अघि हर्सल गिब्स, युवराज सिंह, काइरन पोलार्ड र जसकरण मलहोत्राले अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हानेका थिए ।
युवराज सिंह
भारतका पूर्व आक्रामक ब्याटर युवराज सिंहले २००७ को टी–२० विश्वकपमा इंग्ल्यान्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडलाई १९ औं ओभरमा ६ छक्का हानेका थिए । युवराज टी–२० आईमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् ।
हर्सल गिब्स
दक्षिण अफ्रिकाका ब्याटर हर्सल गिब्सले २००७ को एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए । उनले नेदरल्यान्ड्सका डान भान बंगेलाई ३० औं ओभरमा ६ छक्का हानेका थिए । हर्सल अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् ।
जसकरण मलहोत्रा
अमेरिकाका ब्याटर जसकरण मलहोत्राले २०२१ मा पपुवा न्युगिनीविरुद्ध ओडीआई खेलमा एकै ओभरमा ६ छक्का हानेका थिए । अन्तिम ओभरमा गौडी टोकालाई एकै ओभरमा छक्का हानेका थिए ।
काइरन पोलार्ड
वेस्टइन्डिजका पूर्वकप्तान काइरन पोलार्डले २०२१ को टी–२० आई सिरिजमा श्रीलंकाका स्पिनर अकिला धनञ्जयलाई छैटौं ओभरमा ६ छक्का हानेका थिए ।
प्रतिक्रिया दिनुहोस्