काठमाडौं, असोज ११
सिंगापुरमा सुरु त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट सिरिजमा नेपाल जिम्बाबेसँग पराजित भएको छ । नेपालले दिएको १ सय ३३ रनको लक्ष्य जिम्बावेले १८ ओभर एक बलमा ५ विकेट गुमाएर भेट्टाएको थियो ।
रिचमोन्ड मुतुम्बामी र राएन बुरीले छैठौं विकेटका लागि ८ ओभर एक बलमा ६९ रनको साझेदारी गरेपछि जिम्बावेले पहिलो खेलमै जित निकाल्न सफल भयो । मुलुम्बामी ४० र बुरी ४१ रनमा नटआउट रहे । जिम्मावेले १० ओभरमा ६४ रन जोड्दा ५ विकेट गुमाएको थियो । सोमपाल कामी, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरी नराम्ररी चुटिएका थिए ।
सन्दीप लामिछानेले आफ्नो स्पेलमा १५ रन खर्चेर ३ विकेट लिए । पारस खड्काको नाममा एक विकेट रह्यो । लामिछानेले जिम्बावेका क्याप्टेन सेन विलिएम्ससहित तीन जनालाई शुन्य रनमा आउट गरेका थिए । ११ औं ओभरबाट नेपाली बलरले लय गुमाएपछि नेपाल हार भोग्न बाध्य भयो ।
यसअघि इण्डियन एशोसियसन मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ३२ रनको योगफल तयार पारेको थियो । पाँचौ विकेटका लागि दिपेन्द्र सिंह ऐरी र सन्दिप जोराले ३४ तथा सातौं विकेटका लागि सोमपाल कामी र बिनोद भण्डारीले नटआउट ३७ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफल तयार पार्न सफल भयो ।
३३ बलको सामना गरेका ऐरीले ५ चौकाको मद्दतमा ४० रन जोडे । जोराले १७ रनको योगदान दिए । १४ बलको सामना गरेका सोमपाल कामी २५ र विनोद भण्डारी ११ रनमा नटआउट रहे । ओपनिङ ब्याट्सम्यान पारस खड्काले १८ र राष्ट्रिय टोलीबाट डेब्यु गरेका इसान पाण्डेले ४ रन जोडे । आरिफ शेख ८ र कुशल मल्ल २ रन जोड्दा पवेलियन फर्के नेपालको इनिङ्स एक समय संकटमा परेको थियो । डबल राउण्ड रोबिन लिगका आधारमा चल्ने प्रतियोगितामा एक टोलीले ४ खेल खेल्नेछन् । दोस्रो खेलमा नेपालले आज सिंगापुरसंग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्