जनता टाइम्स

८ बैशाख २०८१, शनिबार ०९:०२

प्रवासी नेपाली मञ्च माल्टाको सह्रानीय काम, संगठनमा योगदान गर्ने अगुवाको गर्यो सम्मान


माल्टा, बैशाख ८ । प्रवासी नेपाली मञ्च माल्टाले संगठनमा उल्लेखनीय योगदान गर्नेहरुलाई सम्मान गरेको छ ।

राष्ट्रिय अधिवेशनपछि बसेको मञ्चको दोस्रो बैठकमा निवर्तमान कार्यसमिति र संगठनको प्रवर्धनमा योगदान गर्नेहरु सम्मानित भएका हुन । बैठकको अवसरमा मञ्चले सत्य झा, भुवन अर्याल, मधु गोतामे गुरुङ, निरज श्रेष्ठ, हरिप्रसाद पौड्याल र दर्शन लिम्बु लगायतकालाई हालसम्मको योगदानका लागि सम्मानित गरेको हो ।

आफ्नो कार्यकालको टिम र प्रवासी नेपाली मञ्चको विकासमा योगदान दिएकाहरुलाई नयाँ कार्यसमितिले सम्मान गरेकोमा आफूलाई निकै खुसी लागेको निवर्तमान अध्यक्ष सत्य झाले बताउनु भयो । कामको मूल्यांकन गरेकोमा उहाँले धन्यवाद पनि दिनुभयो ।

प्रवासी नेपाली मञ्च माल्टाका अध्यक्ष बाबु अर्यालले संगठनमा समय दिएर संगठनको विकासमा योगदान गर्दै प्रवासी नेपालीको हीतमा सकेजति राम्रो काम गर्दै आएको निवर्तमान कार्यसमिति र विभिन्न भूमिकामा रहेर योगदान गरेकाहरुलाई सम्मान गरिएको जानकारी दिनुभयो । साँघुरो सोच राखेर अगाडि बढ्न नसकिने भन्दै अध्यक्ष अर्यालले खुला हृदय राखेर राम्रो काम गर्नेहरुको मूल्यांकन गर्न कोही पनि चुक्न नहुने बताउनु भयो ।

गत मार्च १७ तारिकमा सम्पन्न दोस्रो अधिवेशनबाट अर्याल अध्यक्षमा निर्वाचित हुनुभएको थियो । अधिवेशनबाट नेतृत्वमा आएको छोटो समयमै उहाँको कार्यसमितिले अगुवा नेताहरुलाई सम्मान गरी योगदानको कदर गरेको हो ।

आफ्नो कार्यकालमा प्रवासी नेपालीहरुकै हितमा काम गर्ने र समस्यामा परेका नेपालीलाई सहयोग गर्दै नेपाल सरकारसंग उनीहरुका समस्या समाधानमा समन्वयको काम गर्ने अर्यालले बताउनु भयो । प्रवासी नेपालीको हितमा माल्टामा रहेका सबैले समन्वय र सहकार्य गर्दै मिलेर काम गर्नु पर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।

बैठकले निवर्तमान अध्यक्ष सत्य झाको संयोजकत्वमा ११ सदस्यीय संयोजकत्वमा सल्लाहकार परिषद् गठन गरेको छ । जसको सचिवमा भुवन अर्याल र सदस्यहरुमा यमकुमारी राई, सुवास तिमिल्सिना, हरिप्रसाद पौड्याल, मधु गोतामे गुरुङ र निरज श्रेष्ठ लगातका रहनु भएको छ ।

बैठकले अध्यक्ष बाबु अर्यालको संयोजकत्वमा ५ सदस्यीय सचिवालय पनि गठन गरेको संगठन विभाग प्रमुख हेमराज भण्डारीले बताउनु भयो । त्यसैगरी बैठकले आर्थिक विभाग संयोजकमा प्रकाश पाण्डे, कला साहित्य संस्कृति विभाग संयोजकमा प्रभा राई र महिला विभाग प्रमुखको जिम्मेवारी जानुका नेपाललाई तोकेको छ ।