जनता टाइम्स

१० बैशाख २०८१, सोमबार १७:१५

प्रवासी नेपाली मञ्च युरोपको निर्णय : जुलाईभित्र सवै राष्ट्रिय कमिटीको अधिवेशन सकाउने


युरोप, बैशाख १० । प्रवासी नेपाली मञ्च युरोप महादेश कमिटीले अधिबेशन हुन बाँकी रहेका सबै राष्ट्रिय कमिटीको अधिबेशन आगामी जुलाईभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

प्रवासी नेपाली मञ्च अन्त्राष्ट्रिय कमिटीका सचिव हेम शेर्पाको प्रमुख आतिथ्यतामा बसेको यूरोप महादेश कमिटीको दशौं पूर्ण बैठकले जुलाईभित्र अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।

सचिव सालिक थपलियाका अनुसार बैठकले अधिवेशनसँगै संगठन बिस्तार अभियानलाई पनि तीब्रता दिने निर्णय गरेको छ । जसअनुसार पार्टीको कामलाई ब्यबस्थित गर्दै सदस्यता बितरणलाई तीब्रता दिने निर्णय गरिएको सचिव थपलियाले बताउनु भयो ।

यसैगरी बैठकले केही समयअघि नेकपा माओवादी केन्द्र निकट प्रवासी मञ्च छाडेर प्रवेश गर्नुभएका बाबुराम खतिवडलाई महादेश कमिटीको कला साहित्य तथा संस्कृती बिभागको जिम्मेबारी दिने निर्णय गरेको छ । यस्तै बैठकले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई बिजयी बनाउन सक्दो सहयोग गर्ने निर्णय गरेको छ ।

प्रवासी नेपाली मञ्च युरोप महादेश कमिटीका संयोजक अध्यक्ष मुक्तबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकमा बिशेष अतिथीका रुपमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपसचिव कर्ण शाही र युरोप महादेश कमिटीका इञ्चार्ज भक्त वाग्ले सहभागी हुनुभएको थियो ।

यसैगरी बैठकमा अन्तराष्ट्रिय कमिटी सदस्य सुरेन्द्र थपलिया, गोबिन्द पौडेल, सरस्वती केसी, सन्तोष भट्रराइ रहनुभएको सचिव थपलियाले जानकारी दिनुभयो । बैठकको सञ्चालन सचिव शालिक थपलिया र स्वागत उपसंयोजक चन्द्रकान्त आचार्यले गर्नुभएको थियो । बैठकमा यूरोप महादेशभित्रको सबै राष्ट्रिय कमिटीका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।