जनता टाइम्स

१३ बैशाख २०८१, बिहीबार ००:००

आइपिएल : दिल्लीसंग गुजरात पराजित


काठमाडौँ, १२ वैशाख । साई सुदर्शन र डेभिड मिलरको अर्धशतकका बाबजुद गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्ससँग पराजित भएको छ।

बुधबार सम्पन्न खेलमा गुजरात घरेलु टोली दिल्लीसँग ४ रनले पराजित भएको हो। जारी लिगमा दिल्लीको यो चौथो जित हो। ९ खेलबाट ८ अंक जोडेको दिल्ली छैटौँ स्थानमा उक्लिएको छ।

पराजित गुजरात समान खेलबाट ८ अंक जोड्दै सातौँ स्थानमा झरेको छ। दिल्लीले दिएको २२५ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २२० रन मात्रै बनाउन सक्यो।

गुजरातका साईले सर्वाधिक ६५ रन बनाए। ३९ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे। मिलरले २३ बलमा ६ चौका र ३ छक्कासहित ५५ रन बनाए।

ऋद्धिमान साह ३९ र साई किशोर १३ रनमा आउट हुँदा राशिद खान २१ रनमा अविजित रहे। अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

दिल्लीका रसिक सलमानले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ४४ रन खर्चिए। कुलदीप यादवले २ विकेट लिँदा मुकेश कुमार, अक्षर पटेल र एनरिक नोर्त्जेको नाममा १–१ विकेट रह्यो।

त्यसअघि अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२४ रन बनायो।

ऋषभ पन्तले अविजित रहँदै ८८ रन बनाए। ४३ बल खेलेका उनले ५ चौका र ८ छक्का प्रहार गरे। यस्तै, अक्षर पटेलले ४३ बलमा ५ चौका र ४ छक्कासहित ६६ रन बनाए।

जेक फ्रेजर मक्गर्क २३ र पृथ्वी शा ११ रनमा आउट हुँदा ट्रिस्टन स्टब्स २६ रनमा अविजित रहे।

गुजरातका सन्दीप वारियरले सर्वाधिक ३ विकेट लिए। ३ ओभर बलिङ गरेका उनले १५ रन खर्चिए। नूर अहमदको नाममा १ विकेट रह्यो।