janatatimes

१३ बैशाख २०८१, बिहीबार ०८:०२

वेस्टइन्डिजका खेलाडीको स्वागतमा पिकअप भ्यान भाइरल यस्तो हो वास्तविकता ?


काठमाडौं, १३ बैशाख । नेपालसँग पाँच टी-२० खेलको सिरिज खेल्न वेस्टइन्डिज ए बुधबार बिहान नेपाल आइपुगेको छ । वेस्टइन्डिज टिम नेपाल आएको समयको एउटा तस्वीर क्रिकेट समर्थकसामू भाइरल रह्यो । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्टइन्डिज खेलाडीको राम्रो स्वागत गर्न नसकेको र उनीहरुको खेलाडीको सामान भ्यानमा राखेको भन्दै आलोचना गरेका छन् ।

खेलाडीहरुको किट राख्ने भ्यान पनि राम्रो पठाउन नसकेको भन्दै आलोचना गरेका हुन् । खेलाडीलाई स्वागत गर्न गएका क्यानका क्रिकेट म्यानेजर विनोद दासले आलोचना बारे जवाफ दिनुभएको छ । उहाँ खेलाडीलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुग्नुभएको थियो ।

‘लगेज भ्यानमा नै राख्ने हो, बसमा खेलाडी हुने हो । संसार भरी चल्ने नियम नै त्यहिँ हो, दासले भन्नुभयो, खेलाडीलाई भिभिआईपी सुरक्षा दिन हामी सरकारी निकाय त होईनौं । तर पनि स्कटिङ, लगेज भ्यान र बस थिए ।’ लगेज भ्यान यो भन्दा राम्रो पठाउन सकिने थिएन भन्ने प्रश्नमा उहाँ भन्नुभयो , ‘हामीसँग लगेज भ्यान छैन । हामीले हायर गर्ने हो । उनीहरुले पिकअप पठाएको हो । यो भन्दा पहिला पाकिस्तानमा एसिया कपमा सुरक्षा देखेर पनि होला, तर नेपाल त्यस्तो थ्रेट त छैन । अर्को पटक देखि हामीले यस कुरामा ध्यान दिन्छौं ।’