जनता टाइम्स

१२ आश्विन २०७६, आईतवार ०८:०१

मौसम पूर्वानुमान : मध्य र पूर्वी तराईमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल


काठमाडौं, असोज १२ । मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय रेखा औसत स्थानबाट केही उत्तरतर्फ सरेको जनाएको छ । भारतको गुजरात र अरब सागर आसपासमा एउटा न्यून चापीय प्रणाली तथा भारतको उत्तर प्रदेशमा अर्को न्यून चापीय प्रणाली रहेको महाशाखाको भनाई छ ।

अहिले नेपालमा अरब सागर र बंगालको खाडीबाट आईरहेको जलवास्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि सक्रिय रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही पूर्व र मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

आगामी २४ घण्टामा देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा मध्य तथा पूर्वी तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोही कारण सडक तथा हवाई यातायातमा अवरोध आउन सक्ने तथा पहाडी भू–भागमा पहिरो जान सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम सम्बन्धी विवरणबारे जानकारी दिँदै महाशाखाले आइतबार (आज) दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा वर्षा हुने जनाएको छ । पूर्व र मध्यका केही स्थानमा मेघ गर्जनसहित चट्याङसमेत पर्न सक्नेछ । त्यस्तै मध्य र पूर्वका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार राति देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । त्यस्तै पूर्व र मध्यका एकदुई स्थानमा मेघगर्जनसहित चट्याङसमेत पर्ने तथा पूर्व र मध्यकै एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

सोमबार दिउँसो पूर्व र मध्य भागमा सामान्य बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । पूर्व, मध्य र पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा पूर्व र मध्यका एकदुई स्थानमा मेघ गर्जनसहित चट्याङ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार राति देशका पूर्व र मध्य भेगमा सामान्य र बाँक भागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । पूर्व, मध्य र पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पूर्व र मध्य क्षेत्रकै एकदुई स्थानमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।