जनता टाइम्स

१२ आश्विन २०७६, आईतवार ०८:५१

ज्ञानेन्द्र शाहीले लगाए क्यानडामा रहेका पर्यटनमन्त्री योगेश भट्टराईमाथि गम्भीर आक्षेप


काठमाडौं, असोज १२ । चितवनमा आक्रमणमा परेका ज्ञानेन्द्र शाहीले क्यानडामा रहनुभएका पर्यटनमन्त्री योगेश भट्टराईमाथि गम्भीर आक्षेप लगाएका छन । भ्रष्टाचार बिरोधी अभियानका नाममा पार्टी खोलेर गणतन्त्रबिरुद्ध अभियान चलाउँदै आएका शाहीमाथि हिजो चितवनमा कुटपीट भएको थियो ।

शाहीले आफूमाथि भएको सो आक्रमण पर्यटनमन्त्री योगेश भट्टराईसहित भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल र चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले गराएको आरोप लगाएका हुन । उनका अनुसार पहिला प्रहरीकै योजनामा कार्यक्रम रद्ध गराइयो भने पछि तीनै जनाको योजनामा आफूमाथि आक्रमण गराइयो । ‘योगेश भट्टराई, रेणु दाहाल, दानबहादुर मल्लले मिलेर ममाथि आक्रमण गराएका हुन । नेकपाका मान्छेले आक्रमण गरेका हुन,’ उपचारकै क्रममा रहेका शाहीले भनेका छन ।

‘नेपालका लागि नेपाली’ नामक अभियानले चितवनको चौबिसकोठीमा राखेको कार्यक्रममा सहभागी हुन चौबिसकोठी होटलबाट निस्कदै गर्दा उनी सवार बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण गरिएको थियो । त्यसलगत्तै उनीमाथि कुटपिट भएको हो । कुटपिटबाट घाइते शाहीको काठमाडौं ल्याएर ट्रमा सेन्टरमा उपचार भइरहेको छ । शाहीको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । केही साताअघि नेपालगञ्जबाट आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईका कारण जहाज ढिला गरेको भन्दै अभद्र व्यवहार गरेपछि उनको चर्को विरोध भएको थियो ।