जनता टाइम्स

१५ बैशाख २०८१, शनिबार १४:३७

रमेश लेखकको बिज्ञप्तिले खोल्यो सत्तामा रहँदा गणतन्त्रबिरोधी अभियानमा कांग्रेस लागेको तथ्य


काठमाडौं, बैशाख १५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगानी सम्मेलनका लागि भन्दै सरकारले अध्यादेश ल्याउने सम्बन्धी निर्णय गर्नु लोकतन्त्र र संसदीय अभ्यास विपरीत रहेको भन्दै निन्दा गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज प्रेस विज्ञप्ति जारी गर्दै कानुन निर्माणका लागि संसदसँग पर्याप्त समय हुँदा हुँदै विज्ञप्ति ल्याउनु अलोकतान्त्रिक काम भएको बताउनु भएको हो ।

‘सरकारले संघीय संसद्को अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न आवश्यक परेमा अध्यादेश जारी गर्न सक्ने संविधानको व्यवस्थाको अपव्याख्या गरी संघीय संसदको गत अधिवेशन भन्दा पनि महिनौं अगाडिदेखि तयारी प्रारम्भ भएको लगानी सम्मेलनलाई सम्बोधन गर्ने निहुँमा अध्यादेश जारी गरेको छ । सरकारको यो कामले प्रचलित संविधानको अपव्याख्या हुनुका साथै संसदीय व्यवस्था र लोकतन्त्रको मर्म विपरीत छ,’ कांग्रेस नेता लेखकले बिज्ञप्तिमा भन्नुभएको छ ।

सरकारको यस्तो कार्यले संसद्को महत्व, मर्यादा र गरिमा घट्न जाने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै कमजोर हुने प्रमुख सचेतक लेखकको दाबी छ । सरकारले संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने गरी गरेको गैरजिम्मेवार, लोकतन्त्र र संसदीय अभ्यास विपरीत गरेको कामको विरोध गर्दै निन्दा गरेको पनि उहाँले बताउनु भएको छ । साथै सरकारलाई संसद् छलेर अध्यादेश ल्याउने कार्य गरी संसद्लाई कमजोर नगर्न सचेत समेत गराउनु भएको छ ।

 

उहाँले कांग्रेस समेत सबै विपक्षी दलहरूले सहकारी संस्थाहरूमा लाखौं नागरिकले जम्मा गरेको अरबौँ रकम अपचलन, हिनामिना, दुरुपयोग र ठगी भएको विषयमा छानबिन गर्न र सहकारी पीडितका समस्या सम्बोधन गर्न संसदीय छानबिन समिति माग गरेकोमा उक्त विषयलाई नजरअन्दाज गर्दै सरकारले संसद्बाट भागी अधिवेशनको अन्त्य गरी गैरजिम्मेवार र संसदीय अभ्यास विरोधी चरित्र प्रदर्शन गरेको दाबी पनि गर्नुभएको छ ।

सरकारमा हुँदा भने कांग्रेस अध्यादेशको शासन अनिवार्य रहेको बताउँदै आएको थियो । यतिसम्म कि एमाले बिभाजन गर्न संसद अन्त्य गरेर अध्यादेश जारी गरेको थियो । कांग्रेस नेता लेखकको आजको बिज्ञप्तिले कांग्रेस सरकारमा हुँदा आपराधिक र गणतन्त्र मास्ने सुनियोजित योजनाका साथ काम गरिरहेको र प्रतिक्रियावादीको मतियार बनेको तथ्यलाई उजागर गरेको छ ।