जनता टाइम्स

१२ आश्विन २०७६, आईतवार १७:४९

चियापानका लागि नेकपाले तोक्यो केन्द्रीय बिभाग–जनसंगठन र पेशागत संगठनलाई जिम्मेवारी


काठमाडौं, असोज १२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दसैं, तिहार, छठलगायत मुख्य चाडपर्वको अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको जिम्मेवारी तोकेको छ । आगामी असोज २९ गते भृकुटीमण्डपमा आयोजन ागर्न लागिएको चियापानको तयारीसहित कार्ड बितरणका लागि नेकपाले जिम्मेवारी तोकेको हो ।

पार्टी कार्यालय धुम्बाराहीमा आज सवै जनसंगठन र बिभाग तथा प्रदेश ३ को पार्टी इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष–सचिवको बैठक गरी जिम्मेवारी बाँडफाँट गरिएको हो । बैठकमा महासचिव बिष्णु पौडेलले केन्द्रीय कार्यालयले आयोजना गरेको चियापानका लागि २२ ओटै जनसंगठन, ३२ ओटै बिभागलाई निम्तो कार्ड पुर्याउने गरी कार्ययोजना प्रस्तुत गर्नुभयो । महासचिव पौडेलको प्रस्तावअनुसार बिदेश बिभागलाई नेपालस्थित कुटनीतिक नियोग तथा महाबाणिज्यदुतलाई निम्तोकार्ड पुर्याउने जिम्मा दिइएको छ ।

यस्तै सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान बिभागका बरिष्ठ अधिकारीहरुलाई निम्तो पुर्याउने जिम्मा युवा तथा बिद्यार्थीलाई परेको छ भने प्रेस संगठन नेपालको भागमा सञ्चार क्षेत्र परेको छ । यस्तै सवै भातृ संगठनले आफ्नो क्षेत्रमा पर्ने बिपक्षी राजनीतिक दलका संगठनसहित कार्ड बितरण गर्ने जिम्मेवारी तोकिएको छ । काठमाडौंको भृकुटीमण्डपमा असोज २९ गते आयोजना गर्ने चियापान कार्यक्रममा एक लाख जनालाई निम्तो गर्ने तयारी छ ।

बैठकमा महासचिव पौडेलले पार्टी अध्यक्षदेखि साधरण सदस्यसम्मलाई निम्तो कार्ड बितरण नगरी बिपक्षी राजनीतिक दलका नेता–कार्यकर्ता, संबैधानिक निकाय, नेपाल सरकारका बिशिष्ट श्रेणीदेखि अधिकृत तहसम्मलाई निम्तो कार्ड बितरण गरिने जानकारी दिनुभएको केन्द्रीय कार्यालय सचिव इश्वरी रिजालले जनताटाइम्सलाई बताउनु भयो ।

‘नेकपा केन्द्रीय कार्यालयले आयोजना गर्ने चियापान कार्यक्रममा नेता–कार्यकर्तालाई कार्ड नबाँडने तर उपस्थित हुन सार्वजनिक अपिल गर्ने निर्णय भएको छ, पार्टी आयोजक भएकोले पार्टी पंक्तिलाई कार्ड नबाँडने निर्णय भएको हो,’ केन्द्रीय कार्यालय सचिव रिजालले भन्नुभयो । यस्तो निर्णयपछि राजनीतिक दलका नेताहरु, कुटनीतिक नियोगका अधिकारी, संवैधानिक निकायका पदाधिकारी, सांसद, मन्त्री, पत्रकार, सामाजिक जीवनका विशेष व्यक्तिहरु, खेलाडी र कानुन व्यवसायीलाई कार्ड पठाइनेछ ।

चियापान कार्यक्रम तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीले सुरु गर्नुभएको थियो । त्यसयता एमालेले निरन्तर गर्दै आएको थियो पार्टी एकता भएपछि पनि नेकपाले चियापानलाई निरन्तरता दिएको हो ।