जनता टाइम्स

१२ आश्विन २०७६, आईतवार २१:०९

सञ्चारमन्त्री बाँस्काटाको निश्कर्ष : सन्सनी बनाउने नाममा तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृत्तिअझै हटेन


बनेपा, असोज १२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकारले जुनसुकै विषयमा पनि यथार्थ बुझेर मात्रै समाचार लेख्नुपर्ने बताउनु भएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको बनेपामा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उहाँले समाचार सन्सनी बनाउने नाममा मिथ्या समाचार सम्प्रेषण गरिएको भन्दै रोष प्रकट गर्नुभयो ।

“समाचार सन्सनी बनाउने नाममा तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृत्ति हटेको छैन, यसमा विशेष ध्यान पुर्याउनुहोला,” मन्त्री बाँस्कोटाले भन्नुभयो । आफूले सत्यतथ्यमा आधारित सकारात्मक समाचारको अपेक्षा गरेको उहाँले बताउनुभयो । मन्त्री बाँस्कोटाले केही समयअघि रुपन्देहीबाट अर्घखाँची जाँदै गर्दा उपप्रमुखको गाडीमा आएर मयुर ठोक्किएको प्रसङ्ग निकाल्दै त्यस विषयलाई सनसनीपूर्ण बनाउन ‘भ्रामक’ समाचार सम्प्रेषण गरिएको उल्लेख गर्नुभयो ।

“भ्रामक समाचार सम्प्रेषण गर्दा के हुन्छ, अब विचार पुर्याउनुहोला”, उहाँले भन्नुभयो । गलत अर्थ दिने समाचार शीर्षक नबनाउन र जनताले विश्वास गर्नेगरी पत्रकारिता गर्न सञ्चारकर्मीलाई उहाँले सुझाव दिनुभयो । मन्त्री बाँस्कोटाले नेपाल पत्रकार महासङ्घको माग सञ्चार मन्त्रालयले पूरा गरिरहेको उल्लेख गर्दै ‘मिडिया हाउस’ले न्यूनतम पारिश्रमिक दिए नदिएका बारे पत्रकार महासङ्घले अनुगमन थालेकामा खुशी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “अब नजिकिएको चाडपर्व दशैँमा पनि श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने मिडिया हाउसमा गएर धर्ना बस्नुस्, अनि म महासङ्घलाई स्याबासी दिउँला ।” महासङ्घले आफ्ना श्रमजीवीको अवस्थाप्रति कडा अनुगमनमा लाग्नुपर्नेमा सरकारलाई ख्याउँख्याउँ मात्रै गरेको उहाँको आरोप थियो । उहाँले आमसञ्चार विषयक विधेयक पारित भएपछि मात्रै सञ्चार प्रतिष्ठान बन्ने स्थानको निक्र्यौल हुने बताउनुभयो ।