जनता टाइम्स

१३ आश्विन २०७६, सोमबार ०८:३७

मौसम पुर्वानुमान : आज पनि मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध


काठमाडौं, असोज १३ । मौसम पूर्वानुमान महाशाखाले आज पनि पानी पर्ने संभावना रहेको जनाउँदै सतर्क रहन अपिल गरेको छ । महाशासकाले मनसुनको न्यून चापीय प्रणालीमा परिवर्तन आएको जनाउ पनि दिएको छ । महाशाखाका अनुसार भारतको गुजरात र अरब सागर आसपासमा रहेको न्यून चापीय प्रणाली परिवर्तित भएको हो ।

भारतको उत्तर प्रदेशमा रहेको न्यून चपीय प्रणालीको असर नेपालको पूर्वी र मध्य भू–भागमा रहेको छ । यी दुई प्रणालीका कारण नेपालमा बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा आइरहेको छ । हाल देशका पूर्व र मध्य भू–भागमा सामान्यदेखि पूर्ण बदली रही पूर्वका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टामा देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आगामी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै महाशाखाले सोमबार दिउँसो देशका पूर्वी र पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जनाएको छ । त्यस्तै पूर्व र मध्यका केही र पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुनेछ । पूर्व र मध्यका एकदुई स्थानमा मेघ गर्जनसहित चट्याङको सम्भावना छ ।

सोमबार राति पूर्व र मध्य भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पूर्व र मध्यका केही र पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुनेछ । मंगलबार दिउँसो देशभर आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने तथा राति देशभर बदली रहनेछ । पूर्व र मध्य पहाडी भागका केही स्थानमा हल्का वर्षा हुने महाशाखाको भनाई छ । बुधबार दिउँसो देशभर बदली रही एकदुई स्थानमा हल्का वर्षा तथा राति देशभर बदली रही पूर्व र मध्य पहाडी भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।