जनता टाइम्स

२२ बैशाख २०७६, आईतवार १७:१३

पक्की घर बनाउँदै राउटे


भीमदत्तनगर, बैशाख २२

कुनै बेला जङ्गलमा झुपडी बनाएर जीवन निर्वाह गर्दै आएका लोपोन्मुख राउटे समुदायका नागरिक समाजमा घुलमिल भएसँगै सुविधातर्फ पनि ध्यान दिन थालेका छन् । भीमदत्तनगरपालिका–९ मटेनास्थित बैजनाथ सामुदायिक वनको खाली जमीनमा टहरा बनाएर बस्दै आएका फुना राउटेले दुई कोठे पक्की घर बनिरहेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टको सांसद विकास कोषको रकमबाट राउटे परिवारलाई पक्की घर बनाउन लागेको वडा नं ९ का वडाध्यक्ष राम नाथले जानकारी दिनुभयो । मटेनामा एक दशकदेखि पाँच परिवार राउटे समुदाय बसोवास गर्दै आएका छन् भने भीमदत्तनगरपालिका–९ को खल्लागाउँमा तीन परिवार बस्दछन् ।

घर निर्माणमा खटिएकी फुना राउटेले टहरामा निकै कष्टपूर्ण दैनिकी गुजार्दै आएको बताउनुभयो । ‘अहिले पनि जङ्गलको काष्ठ सामग्री, जडीबुटी र गाउँघरमा मजदूरी गरेर जीविका चलाउँछौं’ उहाँले भन्नुभयो, ‘हाम्रो बाच्ने आधार नै अहिले सरकारले दिने भत्ता भएको छ ।’ वडाध्यक्ष नाथले राउटेको प्रतिव्यक्ति मासिक रु दुई हजारका दरले सामाजिक सुरक्षा भत्ता दिँदै आएको जानकारी दिनुभयो ।

‘भत्ताबाटै रासन खरीद गरेर गुजारा गरिरहेका छन्’उहाँले भन्नुभयो, ‘अहिले त गाउँघरमा घुलमिल भएर काम पनि गरिरहेकै हुन्छन् ।’ अहिले गाउँमा राउटे समुदायका बालबालिका स्कुलसमेत जान थालेका छन् ।