बुटवल । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सरकार र पार्टी नेतृत्वमाथि असाधारण रुपमा हमला भइरहेको भन्दै प्रतिवाद गर्नै पर्ने आधार राख्नुभएको छ । सरकार, पार्टी र नेतृत्वमाथि भइरहेको यो हमला सरकारको कमजोरीका कारण नभई नियोजित रुपमा भएको उहाँको निश्कर्ष छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर १ रुपन्देहीले आइतबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले अव नेता कार्यकर्ता हमलाको प्रतिवादमा उत्रनै पर्ने बताउनु भयो । सत्तारुढ नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश ५ का इञ्चार्जसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले दुईवटा ठूला पार्टीलाई मिलाएर एउटा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गरेकाले त्यसबाट अत्तालिएका र निराश भएकाहरुले पार्टी, सरकार र नेतृत्वमाथि असाधारण हमला गरिरहेको बताउनु भयो ।
‘एकताबाट अत्तालिएका र निराश भएकाहरुले यो एकतालाई कसरी कमजोर पार्न सकिन्छ, नेताहरुलाई कसरी बदनाम गर्न सकिन्छ भन्ने अर्थमा नियोजित रुपमा प्रचार अभियान चलाएका छन,’ पोखरेलले आफ्नो निश्कर्ष सुनाउनु भयो । तत्कालीन एमाले र माओवादी केन्द्रले दुईवटा पार्टीलाई एकताबद्ध गरेर दुनियाँका सामु चुनौति खडा गरेको तर त्यो चुनौतिलाई सामना गर्न कार्यकर्ता पंक्ति तयार गर्न नसकेको उहाँको भनाई थियो ।
‘कार्यकर्ता पंक्तिलाई चुनौति सामनाका लागि तयार गर्न नसक्नु हाम्रो कमजोरी थियो,’ पोखरेलले भन्नुभयो । विरोधीहरुले हमला गरिरहँदा पनि पार्टी कार्यकर्ताहरु उदासिन भएर बसिरहेको भन्दै मुख्यमन्त्री पोखरेलले नियोजित हमलाको प्रतिवाद गर्न निर्देशन दिनुभयो । पार्टी, सरकार र नेतृत्वमाथि भइरहेको यो हमला वस्तुगत जगमा उभिएर भएको छैन,’ पोखरेलको भनाई थियो । सरकारले सिन्डिकेट अन्त्य गर्न खोज्दा यातायात व्यवसायीहरु सरकारविरुद्ध उत्रिएको, मेनपावर व्यवसायीहरुले गरिरहेको ठगी नियन्त्रण गर्न खोज्दा वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरु सरकारविरुद्ध उत्रिएको भन्दै उहाँले राम्रो काम गर्न खोज्दा हुने प्रहारबाट सरकार नडराउने प्रष्ट पार्नुभयो ।
उहाँले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले सुधारका धेरै राम्रा काम अगाडि बढाएको तथ्य पनि राख्नुभयो । प्रदेश पाँच सरकारले मात्रै गतवर्ष दुईसय किलोमिटर सडक कालोपत्रे गरेको उहाँको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्