जनता टाइम्स

१३ आश्विन २०७६, सोमबार १८:४२

कमला कार्की हत्या प्रकरण : बियरमा लठ्याउने औषधि मिसाएर खुवाएपछि हत्या


काठमाडौं, असोज १३

कपनमा असोज १ गते हत्या गरेको अवस्थामा फेला परेकी महिला कमला कार्कीलाई लठ्याउने औषधि खुवाएको खुलासा भएको छ । ५५ वर्षिया कार्कीको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेपछि रहस्य खुलेको हो ।

पक्राउ पर्नेमा मकवानपुर घर भएका सोमलाल थिङ, ओखलढुंगाका पासाङ तामाङ, रौतहटकी पासाङ तामाङ, ओखलढुंगाका पासाङ शेर्पा र रामकृष्ण कार्की छन् । प्रहरीका अनुसार लुटपाटका लागि उनिहरुले बियरमा लठ्याउने औषधि मिसाएर खुवाएको पाइएको हो । परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले भन्नुभयो, ‘बियरमा लठ्याउने औषधि मिसाएर खुवाइएको अनुसन्धानमा खुलेको छ, सुन र पैसा लुट्नकै लागि हत्या योजना बनाएको देखिन्छ।’

कमला त्यहाँ किराना पसलसँगै रक्सी पसल सञ्चालन गर्दै आउनु भएको थियो । हत्या गर्ने व्यक्ति र उनीबीच पहिलेदेखि चिनजान रहेको अनुसन्धानमा खुलेको छ । उनिहरु सँगै बसेर पनि मदिरा खाने गरेको अनुसन्धानका क्रममा खुलेको छ । कमलाको साथमा रहेका चार वटा सुनका औंठी र ४५ हजार रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट शनिबार र आइतबार पक्राउ गरिएको हो ।

असोज १ गते बिहान कपनको तेन्जिङ चोकनजिकैको खाजा पसलको भित्रपट्टी कार्कीको हत्या भएको थियो । आफ्नै कोठामा हात खुट्टा बाँधेको अवस्थामा शव फेला परेपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो । प्रहरीका अनुसार उनको घाटी थिचेर हत्या भएको हो ।