तनहुँ, असोज १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ऋषिङ गाउँपालिकामा आईतबार भएको घटनाको सम्बन्धमा नेपाली काँग्रेसको जिल्ला र केन्द्रले जारी गरेको बक्तव्य भ्रमपुर्ण र अतिरञ्जित र जनतामाथिको गद्धारी भन्दै सच्चिन कांग्रेसलाई चेतावनी दिएको छ । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी नेकपाले घटनाको वास्तविक अवस्था र तथ्यलाई पन्छाएर नेपाली काँग्रेसबाट जारी भएको भ्रमपुर्ण बक्तव्यको खण्डन समेत गरेको छ ।
ऋषिङ गाउँपालिकाको भवन शिलान्यास गर्न जाने क्रममा कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री डा. मिनेन्द्र रिजाललाई स्थानीय जनताहरुले शान्तिपुर्ण रुपमा बाटो छेकी जनताको भावनाविपरित गाउँपालिकाको केन्द्र सार्ने निर्णय गरिएको हुँदा सो भवनको शिलान्यास नगर्न अनुरोध गरिएको विषयलाई पुरै ढाकछोप गरि नेपाली काँग्रेसले आफ्ना नेता माथी नेकपाका कार्यकर्ताले ढुङ्गा मुढा र आक्रमण गरेको भनि लगाएको दाबी पुरै झुटो र भ्रामक रहेको जनाएको छ ।
पत्रकार सम्मेलनमा नेकपाका जिल्ला सचिव राजेन्द्र केशरी न्यौपानेले आम जनताको भावनालाई कुल्चदै जवरजस्ती पालिका भवन शिलान्यासको लागि गएको काँग्रेस नेता र जनताकोहरुको विचमा बाटोमा भेट भई अनुरोध गरेको विषयलाई आक्रमण नै गरेको भन्ने दावी पुरै असत्य भएको बताए । शिलान्यास कार्यक्रमको विरोधमा संघर्ष समितिले ऋषिङ बन्द कार्यक्रम आयोजना गरेको अवस्थामा सो बन्दको अवज्ञा नगर्न र विवादका विच भवन शिलान्यास नगर्न अनुरोध गरिएकोमा सांसद समेत रहेको पुर्व मन्त्री रिजालले कुनै हालतमा भवन शिलान्यास गरेरै छाड्ने बालहठ देखाएको नेकपाका सचिव न्यौपानेले आरोप लगाए ।
पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, प्रदेश कमिटि सदस्य अतिन्द्रकेशरी न्यौपाने, जिल्ला सदस्य श्रीप्रसाद श्रेष्ठ, हरिराज कंडेल, कार्यालय सचिव राजेश्वर ढकाल, नेकपा ऋषिङ गाउँपालिका कमिटिका अध्यक्ष गन्जसिंह गुरुङ र ऋषिङ गाउँपालिका केन्द्र सरोकार संयुक्त संघर्ष समितिका संयोजक भुपाल थापाले पनि विगतको निर्णय, सहमती र २०७३ फागुन २७ गते राजपत्रमा प्रकाशित सुचनाको विपरित गाउँपालिकाको केन्द्र सार्ने एकतर्फी निर्णय गरिएको आरोप लगाए ।
यसैविच नेकपाले ऋषिङ गाउँपालिकाको केन्द्र सार्ने निर्णय नेपाली काँग्रेसको सर्वसत्ताबादी र निरंकुश चरित्र भएको आरोप लगाएको छ । नेकपाले सामेबार एक प्रेस विज्ञप्ति प्रकाशित गरि स्थानीय तह पुन संरचना आयोगको निर्देशन अनुसार २०७३ भदौ १५ गते सर्वदलीय संयन्त्रले गरेको सिफारिस र स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिको निर्णय अनुसार सो गाउँपालिकाको केन्द्र ढुङ्गागाडे नै रहने सर्वसम्मती भएको तथ्य हुँदा हुँदै पनि उक्त निर्णयलाई लत्याउँदै गाउँपालिकाको केन्द्र सार्ने निर्णय सर्वसत्ताबादी र निरंकुश चरित्र भएको बताएको छ ।
जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपानेले जारी गरेको विज्ञप्तिमा नेकपाले सर्वदलीय संयन्त्रको विपरित र सबै निर्णयहरुलाई लत्याउँदै गाउँपालिकाको नेतृत्वले आम जनसमुदायको भावना विपरित एकतर्फी रुपमा पोखरीभञ्ज्याङ केन्द्र राख्ने निर्णय गरेदेखी नै त्यसका विरुद्ध स्थानीय जनता आन्दोलित रहेको र जनताको न्यायपुर्ण आन्दोलनमा नेकपाले समर्थन गरेको जनाईएको छ ।
यही सन्दर्भमा असोज १२ गते भएको घटनाक्रमलाई तोडमोड गर्ने अतिरन्जनापुर्ण अभिव्यक्ति दिने वक्तव्यबाजी गर्ने परिस्थितीलाई भड्काउ तर्फ लैजाने गरि नेपाली काँग्रेसको तर्फबाट भएको क्रियाकलापको भत्र्सना समेत विज्ञप्तिमा गरिएको छ । स्थानीय तहको निर्वाचनमा प्राप्त भएको परिणामको प्राविधिक पक्षको उन्मादमा रहेको नेपाली काँग्रेस र गाउँपालिका नेतृत्वले देखाएको सर्वसत्ताबादी, निरंकुश र अराजकताको गतिविधिले नेपाली काँग्रेसले नै व्यक्त गर्दै आएको लोकतन्त्र प्रतिको प्रतिबद्धताको पर्दा उघारिएको जनाईएको छ । यो अवस्थामा संयमता अपनाउन र गाउँपालिका केन्द्रको विवादलाई अनावश्यक रुपमा नउल्झाई विगतमा गरिएको निर्णय र आम जनताको भवनालाई सम्मान गर्न तथा संवादको प्रकृया सञ्चालन गर्न आह्वान समेत गरिएको छ ।
यसैगरि ऋषिङ गाउँपालिका केन्द्र सरोकार संयुक्त संघर्ष समितिको तर्फबाट संयोजक भुपाल थापा र सचिव प्रेम रानाभाटले पनि सोमबार विज्ञप्ति प्रकाशित गरि गाउँपालिकाको केन्द्र सार्ने निर्णय तत्काल स्थगन गरि जनताको भावनाको सम्बोधन गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्