भक्तपुर, ८ जेठ । भक्तपुरको बेखालमा राष्टिय प्रतियोगिता आयोजना मिल्ने क्षमताको भव्य टेबुल टेनिस कभर्ड हल निर्माण सम्पन्न भएको छ । भक्तपुर नगरपालिका वडा नं १० बेखाल (नगरकोट जाने सडक खण्ड) मा एक सय ५० दर्शक अट्नसक्ने भव्य कभर्ड हल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । कभर्ड हल साढे तीन तल्लाको छ । कभर्ड हल पार्किङसहितको भव्य छ । झण्डै तीन करोड ४४ लाख बराबरको खर्चमा भक्तपुर नगरपालिकाले कभर्ड हल निर्माण गरेको हो । कभर्ड हल त्यहाँको तीन हजार सात सय दुई वर्ग फिटको पर्ति (सार्वजनिक) जग्गामा बनाइएको हो ।
झण्डै तीन वर्ष भन्दा लामो समयदेखि भबन बन्न सकेको हो । कभर्ड हल निर्माणको सुरुवात २०७७ साल पुस २० गतेबाट सुरु भएको थियो । भव्य कभर्ड हलको संघीय सांसद् प्रेम सुवालले उद्घाटन गर्नुभएको थियो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा हाल कमलविनायक, लिवाली र बेखालमा गरी तीन वटा कभर्ड हल संचालनमा आएको बताउनुभयो । तेश्रो र भव्य कभर्ड हलको रुपमा पछिल्लो बेखालको कभर्ड हल रहेको उहाँले जनाउनुभयो । नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिंदै आएको भन्दै उहाँले यही कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सफल भएको बताउनुभयो ।
खेलाडीको मनोवल बढाउन हरेक वर्ष खेलाडी तथा प्रशिक्षकहरु सम्मान गर्दै आएको पनि उहाँले स्मरण गर्नुभयो । भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले निर्वाचन घोषणापत्र अनुसार खेलकुद क्षेत्रलाई प्राथमिकता दिंदै कार्य गरिरहेको बताउनुभयो । उहाँले नगरपालिकाले विश्व अपाड्डता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुबीच नियमित रुपमा खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिरहेको पनि सम्झिनुभयो । सरकार र खेलकुद परिषद्ले गर्नुपर्ने कामलाई नगरपालिकाले अगाडि बढाइरहेको चर्चा पनि गर्नुभयो । हाल कभर्ड हललाई राष्ट्रिय प्रशिक्षण केन्द्रको रुपमा विकास गर्न सकिने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभाका सांसद सृजना सैंजु, राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ प्रशिक्षक राजेन्द्र कपाली, अखिल नेपाल टेबुलटेनिस संघका अध्यक्ष चतुरानन्द वैद्य, भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण राय, वडा नं. १ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबीन्द्र ज्याख्व, वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईलगायतले नगरपालिकाले शिक्षा, स्वास्थ्यसँगै खेलकुदलाई पनि प्राथमिकतामा राख्दै आएको चर्चा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्