जनता टाइम्स

१४ आश्विन २०७६, मंगलवार १२:०७

सभामुख महरामाथिको छानबिन नागरिकसरह हुनुपर्छ : गगन थापा


बुटवल, असोज १४ । नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले लगाएको बलात्कारको आरोपबाट आफू स्तब्ध भएको भन्दै यसको अन्त्य विज्ञप्ति जारी गरेर मात्र नहुने बताउनु भएको छ ।

आज बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा थापाले मुलुककै सम्मानित व्यक्तिमाथि लागेको आरोपले संसद्का सबै सदस्य स्तब्ध भएको र यस्तो गम्भीर आरोपको छानबिन आमनागरिक सरह नै हुनुपर्ने बताउनु भएको हो । ‘यो आरोप आम मान्छेमाथि लागेको भए के हुन्थ्यो ?, सभामुखमाथि पनि प्रचलित कानुनी व्यवस्था अनुसार छानबिन हुनुपर्छ,’ थापाले भन्नुभयो ।

अहिलेसम्मका विभिन्न घटनामा साख गुमाएको प्रहरी प्रशासन यस विषयमा कुनै दबाबमा पर्न नहुने उहाँको भनाई छ । ‘प्रहरीले आफ्नो गुमेको प्रतिष्ठा पुनस्थापना गरोस,’ व्यक्तिको पदको प्रभाव नदेखियोस,’ थापाले भन्नुभयो । नैतिक प्रश्न उठेको र मुलुकको प्रतिष्ठासित गाँसिएकाले यो आरोप झुटो सावित होस भनेर थापाले कामनासमेत गर्नुभयो ।

गम्भीर आरोप लागिसकेको अवस्थामा एउटा विज्ञप्तिबाट आरोपमा ‘रफादफा’ गर्न नहुने भन्दै उहाँले शंका निवारणका लागि सभामुखबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । ‘अर्कोतर्फ आरोप लगाउने महिलाको चरित्रका विषयमा टीकाटिप्पणी सुरु भएको छ,’ थापाले भने ‘कसैको चरित्रको विषयमा निर्णय गर्ने अधिकार कसैलाई छैन, प्रहरीले छानबिन गरोस् । सम्मानित न्यायलय पनि रहेको छ ।’