जनता टाइम्स

१४ जेष्ठ २०८१, सोमबार २३:४३

७ बुँदे घोषणापत्र जारी गर्दै सकियो ओएनएफ अमेरिकाको साधरण सभा, एमाले उपमहासचिव ज्ञवालीले दिए बिशेष प्रशिक्षण


अमेरिका, जेठ १४ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाको दोस्रो साधारण सभा भब्यरूपमा सम्पन्न भएको छ ।

‘सबल प्रवासी : समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नाराका साथ क्यालिफोर्नियाको लस एन्जलसमा सम्पन्न साधरणसभामा अमेरिकाभरका प्रवासी नेपाली मञ्चलाई माया गर्ने करिब १५ राज्यका गरी १ सय ५० जना र सो सो शहरमा बसोवार गर्ने नेपाली गरी ३ सय जनाको उपस्थिति रहेको थियो ।

नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवाली प्रमुख अतिथी रहनुभएको सो साधरणसभामा विशेष अतिथि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, महावाणिज्यदूत ऋषि ढकाल, अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य एवं अमेरिका महादेश इञ्चार्ज प्रभु थापा, अमेरिका महादेश संयोजक ईश्वरी भट्ट, गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका उपाध्यक्ष नेत्र पाण्डे, एनआरएनए सचिव दिपक सापकोटा, ज्ञानेन्द्र गुरुङ, जनसम्पर्क समिति अमेरिकाका प्रतिनिधि रामचन्द्र लामिछाने, पशुपतिनाथ फाउन्डेसनका एलएका अध्यक्ष रामेश्वर भण्डारीले आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटीका सल्लाहकार यमुना भट्टराई, इन्जिनियर कुलमणि आचार्य, राजेन्द्र शिवाकोटी र डा. निर्मल पौड्यालले आर्थिक उपार्जनका विषयमा केन्द्रित रहेरकार्यपत्र प्रस्तुती र छलफल गरिएको थियो ।

सो अवसरमा आफ्नो धारणा राख्दै प्रमुख अतिथि पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालको विकासको पहिलो शत्रु अर्थर ाजनीति रहेको बताउनु भयो । उहाँले नेपालको बाह्य शक्तिसँग सन्तुलनका बारेमा पनि आफ्नो धारणा राख्नुभयो । ज्ञवालीले आज नेपाल निकै गहिरो आर्थिक मन्दीको चक्रमा परेको, देशको हवाई अड्डामा देखिएका समस्या, ठूला–ठूला सुनकाण्ड, अदालतमा देखिएका समस्या लगायत विविध विषयहरूमा आफ्नो धारणा राख्नुभएको थियो ।

नेपालमा रहेका प्राकृतिक स्रोतहरूबाटै देश विकासको पूर्वाधार बनाउनु पर्ने भन्दै उहाँले प्रवासी नेपालीलाई सघाउन समेत अपिल गर्नुभयो । उहाँले बाह्य सन्तुलन कायम, देशको अर्थतन्त्र लयमा फर्काउनु पर्ने अवस्था, सुशासन, जातीय अतिवाद, लोककल्याणकारी राज्य, सामाजिक न्याय सम्बन्धी बिबिध बिषयका सहभागीहरुलाई बिशेष प्रशिक्षणसहित आफ्नो धारणा राख्नुभएको थियो । देशको आर्थिक विकासमा सबैसँग हातेमालो गर्ने नेकपा एमालेको नीति रहेको बिषयमा समेत उहाँले सबिस्तार चर्चा गर्नुभयो ।

ज्ञवालीले गैर आवासी नेपाली नागरिकताका सवालमामा समेत नियमावली संशोधनको बाटोमा लागेको र सम्बन्धित निकायहरुलाई निर्देशन गरी सहज रूपमा आफ्नो सम्पतिको ब्यवस्थापन एवं सुरक्षित लगानी गर्न पाउने ब्यवस्था गरिने जानकारी दिनुभयो । नागरिकताको निरन्तरताको बिषयमा संबिधान संशोधनको बिषय तत्कालका लागि जटिल रहेको समेत उहाँले प्रष्ट पार्नुभयो ।

पूर्वमन्त्री ज्ञवालीले बिदेशमा रहेका नेपालीको भावनाको कदर गर्दै निर्वाचनमा सहभागी गराउन बिदेशबाट नै मतदाता नामावलीमा नाम लेख्ने बारेमा समेत सल्लाहसहित अगाडि बढेको जानकारी दिनुभयो । उहाँले देश विकासको भावी योजना प्रस्तुत गर्दै अवको २५ वर्षमा नेपाललाई संसारको शीर्ष ५० देशको सूचीमा पुर्याउने खाकासमेत राख्नुभएको थियो ।

कार्यक्रममा विशेष अतिथि प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले गैर आवासीय नेपाली नागरिकताले प्रवासी नेपालीको सवै आवश्यकता सम्बोधन हुन नसकेको भन्दै नागरिकता सम्बन्धी बिषयमा बंशजका आधारमा नागरिकताको निरन्तरतामा जानुपर्ने धारणा राख्नुभएको थियो ।

उदघाटपछिको बन्द शत्रमा अध्यक्ष कृष्ण लामिछानेले राजनीतिक प्रतिवेदन, सचिवबाट प्रगति प्रतिबेदन र आर्थिक बिभाग प्रमुखबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । तीन वटै प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ । बन्द शत्रलाई समेत प्रमुख अतिथी ज्ञवालीले सम्बोधन गर्नुभएको थियो । सो अवसरमा उहाँले नेकपा एमालेले अव गर्ने काम, प्रदेश सरकार, पार्टीबिरुद्ध चलाइएको प्रोपगाण्डाका बारेमा प्रष्ट पार्दै सहभागीहरूले उठाएका प्रश्नहरूको जबाफ दिनुभएको थियो । जवाफका क्रममा उहाँले देश र जनाताका लागि राम्रो काम गर्न र देश समृद्ध बनाउन २०८४ मा नेकपा एमालेले बहुमत ल्याउनु पर्ने बताउनु भयो ।

ओएनएफ अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव छवि पाण्डेले गर्नुभएको थियो भने मुल ब्यवस्थापन क्यालिफोर्निया राज्य कमिटीका अध्यक्ष चिरञ्जीबि गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो । दोस्रो साधारण सभा ब्यवस्थापन संयोजक भीमप्रकाश ओली हुनुहुन्थ्यो । आर्थिक ब्यबस्थापनबारे सल्लाहकार कमिटीका संयोजक राजेन्द्र शिवाकोटीले जानकारी गराउनु भयो ।

सो अवसरमा आर्थिक सहयोग गर्ने दाताहरुलाई आभारसहित कदर पत्रबाट सम्मान गरिएको छ । यसैगरी प्रचार प्रसार संयोजक बिजय बगालेले प्रचारको बिषयमा जानकारी गराउनु भएको थियो । साधरणसभाले सात बुँदे लस एन्जलस घोषणा पत्र जारी गरेको छ ।

घोषणापत्रको पूर्णपाठ

१. कुनै पनि सङठनको मेरुदण्ड भनेको यसको सदस्यहरु भएको हुदा आगामी वर्ष हुने ओएनएफको चौथो अधिवेशन सम्ममा कम्तिमा १,००० पुर्याउने र सम्भव भएसम्मका राज्यहरुमा थप राज्य कमिटि निर्माण गरि सवै राज्य कमिटिहरुलाई अझ चलायमान गराउने।

२. प्रवासी नेपालीहरूले आर्जन गरेको सीप, ज्ञान र दक्षतालाई नेपालको विकास र समृध्दिसँग जोड्न नेपालमा रहेका शैक्षिक संस्था, सरकारी निकाय र गैरसरकारी संस्थासँग समन्वय र सहकार्य गर्ने ।

३. अमेरिकाको नेपाली समुदायलाई आर्थिक, शैक्षिक, सीपमूलक,तथा सामाजिक क्षेत्रमा लाग्न प्रेरित, समन्वय र सहयोग गर्न सम्बन्धित सबैलाई आव्हान गर्दछ र ओएनएफका सवै साथीहरुलाई ब्यबसायिक गतिविधिमा प्रोत्साहन गर्ने।

४. ओएनएफसङ युवा विद्यर्थीहरु लाई जोड्नको निमित्त एजिएमको अवसरमा हरेक वर्ष कम्तिमा ५ जना विभिन्न बिधाका अब्बल विद्यार्थीहरूलाई प्रोत्साहन गरी उनीहरुलाई ओएनएफसङ जोड्न शैक्षिक सहयोग (छात्रबृद्धि) प्रदान गर्ने ।

५. सवल प्रवासी, समृध्द नेपाल सुखी नेपालीको “ नारालाई सार्थक बनाउन नेपालको मूलधारका राजनीतिक पार्टीहरूले राष्ट्रियता, सशासन र भ्रष्टाचार विरोधी अभियानलाई तीव्रताका साथ अगाडि बढाउन आव्हान गर्दछ ।

६. हालसालै पारित गरिएको गैरआवासीय नागरिकता ऐनबाट प्राप्त गरिएको गैर आवासीय नेपाली नागरिकताले राजनीतिकबाहेक सम्पूर्ण आधिकार दिने भनिए पनि अन्य कानुनी जटिलता आएको हुँदा त्यसलाई समाधान गर्न प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले अन्य संगठनहरुसंग पनि सहकार्य गरी तुरुन्त पहल गर्नको लागि अनुरोध गर्दछ ।

७. नेपालको संविधान २०७२ मा सार्क राष्ट्र वाहेकका मुलुकमा वस्ने र उक्त मुलुकको नागरिकता प्राप्त गरेकाहरुलाई आर्थिक, सामाजिक र सास्कृतिक अधिकार सहितको गैर आवसिय नेपाली नागरिकता प्रदान गर्न सकिन्छ भन्ने उल्लेख गरिएकामा उक्त नागरिकतावाट प्रवासी नेपालीहरुको अधिकार संकृचित गरिएको, सम्पति माथिको पुर्ण अधिकार र नेपाल प्रवेश गर्दा भिषा समेत पनि नलगाई प्रवेश गर्ने नसकिने हुनाले यो अधिवेशको हल नेपाली नागरिकताको निरन्तरताको जोडदार माग गर्दछ ।