काठमाडौं, असोज १५ । कृष्णबहादुर महरा संसदीय राजनीति र भूमिगत विद्रोही राजनीतिमा जति चर्चित हुँदै गए त्यतिनै उनको नाम जोडिएर विभिन्न विवादित काण्डहरु पनि बाहिर आए । संघीय संसद् प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा पछिल्लो समय संसदकै कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपमा परे । उनले यसै आरोपमा राजीनामा दिएका छन्। संसद्कै कर्मचारीमथि यौन दुर्व्यवहारको आरोप लागेपछि महराले पदबाट राजीनामा दिएका हुन्।
नेपालको संसदीय इतिहासमा सभामुखमाथि लागेको यो स्तरको आरोप पहिलो हो। सभामुखमात्रै होइन, राज्यका अन्य कुनै पनि अंगका प्रमुखमाथि पदमा बहाल रहेकै अवस्थामा यस किसिमको आरोप लागेको थिएन। त्यसो त महरा बेलाबेलामा विवादमा परिरहन्छन्।
उनका विवाद यस्ता छन् ।
संघीय संसदमा सभामुखको भूमिका निभाइरहँदा जसरी पूर्वसभामुख नेम्वाङले सबैलाई मिलाएर अगाडि बढाउँथे तर महरामा समन्वयकारी भूमिका देखिएन । उनको कार्यशैलीलाई लिएर प्रतिपक्षी कांग्रेसले पटपटक संसद अवरुद्ध गरेको थियो । प्रतिपक्षी दलले विरोध गरिरहँदा पनि उनी संसदीय प्रक्रिया जर्बजस्ती अगाडि बढाउँथे ।
उनी अर्थमन्त्री र सञ्चारमन्त्री बन्दा नि विभिन्न काण्डहरु उनको नाम जोडिएर आए । जसबारेमा नत सरकारले नै दोषी प्रमाणित गर्न सक्यो नत उनी नै निर्दोष भए । उनी सञ्चार मन्त्री हुँदा रेडियो फ्रिक्वेन्सीको मूल्य कौडी बराबर बनाएको आरोप लाग्यो । सांसद किनबेचको लागि चीनसँग ५० करोड रुपैयाँ मागेको भन्ने टेप काण्ड पनि उनको आवाजमा सार्वजनिक भयो ।
त्यस्तै अर्थमन्त्री बन्दा ६६ करोड गैर बजेट रकमान्तर र माओवादी विद्रोहकालमा निर्दोष नागरिकलाई जनसेना हिरासतमा यातनाको आदेश दिएको भन्ने जस्ता काण्डहरु सार्वजनिक भएका थिए । माओवादीका पूर्वलडाकूहरुले लडाकूको नाममा बुझेको करोडौं बेरुजु भएको तथ्यहरु पनि बाहिरिए त्यो रकम अहिलेसम्म पनि कहाँ हरायो पत्ता लागेको छैन ।
करोडौं राजस्व हिनामिनाको अरोप लगेका चुडामणि शर्मासँग अनुचित उठबसको विषय पनि महरामाथि आरोप लागेको थियो । छोराको एन्जिओमा चिनियाँ लगानीदेखि विदेशमा शंकास्पद भ्रमण र शंकास्पद भेटसम्मका आरोपहरु उनीमाथि लागेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएको अवैध सुन काण्डबारे पनि महराको नाम जोडिएर आएको थियो तर त्यसबारे प्रमाणित भने भएको थिएन ।
यसरी महरा नेपालको राजनीतिमा एउटा लोकप्रिय शिक्षकदेखि लोकप्रिय नेतासम्म त बने तर उनको जीवन पूर्णतया निश्कलंकित भने हुन सकेको थिएन । कतिपय काण्डहरुबारे नाम जोडियो तर केही छानबिन त भएन ।
अहिलेको बलात्कारको अभियोगमा भने मुक्त हुन त्यति सजिलो छैन । यो घटना बाहिरिनु र महरालाई राजीनामा दिन बाध्य बनाउनुमा विभिन्न सामाजिक सञ्जाल र अनलाइनहरुको पनि महत्वपूर्ण भूमिका रहेको छ । जसले नेकपाको सचिवालयलाई पनि उनको राजीनामाबारे सोच्न बाध्य बनायो । विभिन्न नेताको गलत कार्यशैलीले शाख र लोकप्रियता गिर्दे गएको नेकपामा पछिल्लो महरा प्रकरण झनै ठूलो धक्का हो । नेताका कार्यशैली र व्यवहारलाई सभ्य र शिष्ट बनाउन नसकेमा पार्टीको लोकप्रियता पक्कै घट्दै जाने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्