जनता टाइम्स

२१ जेष्ठ २०८१, सोमबार ११:२९

प्रवासी नेपालीलाई प्रदीप ज्ञवालीको आह्वान : अर्थतन्त्र डामाडोल र समाजमा निरासा देखिए पनि देश बन्छ भन्नेमा ढुक्क हुनोस


डिसी (अमेरिका), जेठ २१ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुक बन्छ भन्ने आत्मबिश्वासका साथ रहन बिदेशमा रहेका सवै नेपालीलाई आग्रह गर्नुभएको छ ।

प्रवासी नेपाली मञ्च डिसी मेट्रो कमिटी अमेरिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वपराराष्ट्रमन्त्री समेत रहनुभएका एमाले उपमहासचिव ज्ञवालीले देश बनाउन सकिने प्रष्ट खाका प्रस्तुत गर्नुभएको हो ।

प्रवासी नेपाली मञ्च अमेरिकाको निमन्त्रणमा अमेरिका भ्रमणमा रहनुभएका एमाले उपमहासचिव ज्ञवालीको भ्रमणको अवसर पारेर डिसी मेट्रो राज्य कमिटीले ‘नेपाली नागरिकताको निरन्तरता, प्रवासबाट मतदान र नेपालको परराष्ट्र नीति’ बिषयक अन्तरक्रिया आयोजना गरेको हो । सो कार्यक्रममा ज्ञवालीले नेपाल बन्ने खाकासहित प्रवासी नेपालीलाई कन्भिन्स गर्नुभएको हो ।

‘मुलुकको अर्थतन्त्र डामाडोल छ, हामीले चाहेजसरी सुधार गर्न सकिएको छैन । समाजमा निरासा छ । तर पनि देश बनाउन सकिन्छ, देश बन्छ भन्ने बिश्वासमा रहन म सवैलाई आग्रह गर्दछु,’ उपमहासचिव ज्ञवालीले भन्नुभयो ।

उपमहासचिव ज्ञवालीले उज्वल भबिश्यको लागि अमेरिका आएर सफल भएका सवै नेपालीलाई बधाइ दिनुभयो । ‘यहाँहरुले अमेरिकामा सफलता हासिल गर्दा हामी गर्व गर्छौं । बसाई सराई कुनै नौलो कुरा हैन । अमेरिकामा नेपालको छवी राम्रो बनाउन तपाईंहरुले खेलेको भूमिका सराहनीय रहेको छ । यस्को म र हाम्रो पार्टीको तर्फबाट खुलेर प्रशंसा गर्छु,’ ज्ञवालीले भन्नुभयो, ‘अमेरिकामा नेपालीहरुले हासिल गरेको ज्ञान र सीपमा नेपालको हक छ । आफ्ना साधन र श्रोत नेपालको बिकाशमा लगाउनु पर्छ ।’

उपमहासचिव ज्ञवालीले प्रवासमा रहेका नेपालीहरु सामाजिक सञ्जालमा लेखिएका कुराहरुमा अल्मलिने र सत्य नबुझेर नकारात्मक टिका टिप्पणीमा फस्ने काम गर्न नहुने बताउनु भयो ।

‘प्रवासमा रहेका नेपालीहरु सामाजिक सञ्जालमा लेखिएका कुराहरुमा अल्मलिने र सत्य नबुझेर नकारात्मक टिका टिप्पणीमा रुमल्लिने भूल गर्नुहुँदैन, यी नकारात्मक कुरामा हामी अलमलिनु हुँदैन । हामी गरिवीसंग लडिरहेका छौं । तर गरिवीलाई पराजीत गरेर अघि बढन सक्ने सामार्थ्य पनि हामीसँग रहेको छ,’ पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो । आफ्नो भनाई राख्नेक्रममा ज्ञवालीले नेपाललाई कसरी अन्तर्राष्ट्रिय स्तरमा शीर्ष ५० मा पुर्याउने भन्ने लक्ष्यका साथ नेकपा एमाले अघि बढिरहेको जानकारी पनि दिनुभयो।

उपमहासचिव ज्ञवालीले संघीय लोकतान्त्रिक गणतन्त्रपछि नेपालले गरेको प्रगतिको बारेमा समेत सबिस्तार जानकारी गराउनु भयो । नेपालले सामाजिक न्यायमा निकै प्रगति गरेको चर्चा गर्दै उहाँले छिमेकी राष्ट्र भारत, पाकिस्तान बंगालदेशको उदाहरण दिनुभयो ।

नेपालले महिला शसक्तिकरण, सहभागिता, बाटोघाटो र अन्य क्षेत्रमा बिकाश गरेता पनि रोजगार सृजना गर्न भने नसकिरहेको उहाँको भनाई थियो । ‘हामीले केही गर्न सकेनौं भन्ने होइन, सोचेजसरी अगाडि बढन नसकेका हौं, हामी सुस्त सुस्त अगाडि बढी रहेको छौं,’ ज्ञवालीले भन्नुभयो, ‘तर देश अगाडि बढ्छ भन्ने आत्मविश्वासका साथ काम गरिरहेका छौं ।’

कार्यक्रमका प्रमुख अतिथि ज्ञवालीले देशको आर्थिक विकासमा सबैसँग हातेमालो गर्ने नेकपा एमालेको नीति रहेको समेत बताउनु भयो । नागरिकताका सवालमा पूर्वमन्त्री ज्ञवालीले गैर आवासीय नागरिकता बारेमा छलफल गरिरहेको र आफूले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । यस्तै प्रवासवाट मतदानको ब्यवस्था हुनुपर्ने सन्दर्भमा पनि काम गरिरहेको भन्दै नागरिकताको निरन्तरताको बिषयमा संबिधान सम्बोधको बिषय तत्कालका लागि भने जटिल रहेको जानकारी दिनुभयो ।

बिदेशबाट मतदान गर्नका लागि बिदेशबाट नै मतदाता नामावलीमा नाम लेख्ने बारेमा समेत सल्लाहसहित अगाडि बढेको जानकारी उहाँले दिनुभयो । कार्यक्रममा प्रमुख अतिथी ज्ञवालीसँग सहभागीले अन्तरक्रियासमेत गरे । सहभागीको प्रश्नको जवाफ दिँदै ज्ञवालीले नेपाल बन्छ र बनाउन सकिन्छ भन्नेमा प्रष्ट हुन आग्रह गर्नुभयो । कार्यक्रममा एमाले उपमहासचिव ज्ञवालीले देश बनाउने अभियानमा अघि बढन सबैलाई आह्वान समेत गर्नुभयो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले गैर आवासिय नेपाली नागरिकतामा रहेको त्रुटी औल्याउँदै सच्याउनुको बिकल्प नभएको बताउनु भयो । ‘गैर आवासिय नेपाली नागरिकता कागजको खोस्टो जस्तो मात्र भयो । यसले केही पनि काम गर्दैन,’ अध्यक्ष थापाले भन्नुभयो । अध्यक्ष थापाले बंशजका आधारमा नागरिकताको निरन्तरतामा जानुपर्ने आफूहरुको प्रष्ट मान्यता रहेको बताउनु भयो ।

कार्यक्रममा महाबाणिज्यदुत प्रेमराजा महतले पनि आफ्नो छोटो मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले स्वागत मन्तब्य राख्नुभएको थियो भने सञ्चालन विजय बगाले गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथीलाई मायाको चिनो हस्तान्तरणसहित अतिथीहरुलाइ कदरपत्र प्रदान गरिएको छ ।