जनता टाइम्स

१५ आश्विन २०७६, बुधबार १३:०३

श्रीमानले आत्महत्या गरेलगत्तै सात जना श्रीमती शव बुझ्न आएपछि…


काठमाडौं, असोज १४ । गत आइतबार भारतको हरिद्वारमा ४० वर्षका एक पुरुषले आत्महत्या गरे । उनी थिए सवारी चालक पेशा अंगालेका पवन कुमार । त्यो घटना थाह पाउन साथ प्रहरी पुग्यो । प्रहरीले जव त्यहाँको दृष्य देख्यो, आफै चकित पर्यो । आत्महत्यापछि शवमाथि अधिकार जताउनका लागि सुरुमै पाँच महिला अगाडि सरे ।

समस्या त्यतिबेला निम्तियो, जब यी सबैले मृतककी श्रीमती भएको दाबी गरे र आफ्ना ‘श्रीमान’ को जीवनमा अन्य कुनै महिला भएकोबारे आफूलाई कुनै जानकारी नभएको बयान दिए । घण्टौंसम्म चलेको नाटक र झगडापछि मृतकको दाहसंस्कार गरियो । पुलिसले पाँच महिलाको दाबीमाथि अनुसन्धान गरिरहेकै बेला अन्य दुई महिला पनि थपिए । मृतक आफ्नो श्रीमान् भएको दाबी गर्दै उनीहरु पुलिस स्टेशन आइपुगे । पुलिसलाई अन्य महिलाले पनि शवमाथि अधिकार माग्ने हो कि भनेर शंका छ । त्यसकारण पुलिसले यो समस्या सुल्झाउनका लागि हरिद्वार पुलिसले अझै केही दिन प्रतिक्षा गर्ने निर्णय गरेको छ । मृतक पवन कुमार ड्राइभर थिए ।

पुलिसका अनुसार आइतबार राती पवनले विष सेवन गरे । पवनकी कथित श्रीमतीले उनलाई बेहोसीको स्थितीमा एक नजिकैको अस्पतालमा भर्ना गराएकी थिइन् । उपचारको क्रममा पवनको मृत्यु भयो । सुरुवाती अनुसन्धानमा पत्ता लागेअनुसार पवन गम्भीर आर्थिक संकटसँग जुधिरहेका थिए । साथै, मृतकले निकै साधारण जीवनशैली अपनाइरहेका थिए ।

उनको अकाउन्टमा पैसा समेत थिएन । सिटी पुलिस थानाका एसएचओ प्रविण सिंह कोश्यारीले टाइम्स अफ इन्डियासँग भने, ‘उनले यस्तो कदम किन उठाए भनेर हामी अनुसन्धान गरिररहेका छौं । जो महिलाले पवनलाई अस्पताल पुयाएकी थिइन, उनले आफूलाई पवनकी श्रीमती बताइरहेकी थिइन तर उनले आत्महत्याको कुनै पनि कारण बताइनन । शवको पोस्टमर्टमका लागि अस्पताल पठाएका छौं ।’ पुलिस अधिकारीका अनुसार मृतक पवनको बैंक खातामा जिरो ब्यालेन्स थियो र उनी एक भाडाको घरमा बस्थे ।