जनता टाइम्स

१५ आश्विन २०७६, बुधबार १५:२१

महेश बस्नेतले हाने नेकपाले गरेको बिकाशको तथ्यसहित कांग्रेस–नेमकिपामाथि झटारो


भक्तपुर, असोज १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेकपा सरकारले गरेको काम जनतासामु घाम जस्तै छर्लङ्ग रहेको ठोकुवा गर्नुभएको छ । नेकपा चाँगुनारायण नगरपालिका वडा नं. ६ तेलकोटको आयोजनामा भएको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् ११४०, छठ पर्वहरुको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका बस्नेतले नेकपाले गरेको कामबाट कांग्रेस र नेककिपाले विगतदेखि अहिलेसम्म गरेका कामहरु वादल लागेजस्तै ढाकिएको निश्कर्षसमेत सुनाउनु भयो ।

उहाँले नेकपा नेतृत्वको सरकार तथा जनप्रतिधिले जनतालाई कुनै कथा सुनाएको नभई देशभर विकासको लहर ल्याएको तथ्य पनि राख्नुभयो । उहाँले कांग्रेसले भ्रष्टाचार तथा अनियमिततालाई पस्रय दिएको बताउँदै भ्रष्टाचारीलाई जेलबाट रिहाई गर्न दुई सय पचास किलोको माला लिएर स्वागत गर्दै भ्रष्टाचारीलाई कांग्रेसले सम्मान गरेको बताउनु भयो । उहाँले देशका ठूला ठूला भ्रष्टाचार काण्डमा कांग्रेस नेताकै संलग्न देखिएकाले अब त्यसलाई तोड्न र मुलुकलाई आर्थिक तथा सामाजिक रुपान्तरणको लागि लामो समयसम्म नेकपाको नेतृत्व आवश्यकता रहेको औंल्याउनुभयो ।

विगतमा कांग्रेस तथा नेमकिपाका भ्रष्टाचारी, दलाली, नोकरसाई तथा अवैध गतिविधि गर्ने लामखुट्टेले अहिले काईय कुईँय गर्ने गरिरहेको बताउँदै उहाँले यसको कुनै अर्थ नरहने बताउनुभयो । जनताले नेकपाको लागि देवता भएको बताउँदै जनताले दिएको जनमतका जनताको चाहना र आकांक्षालाई पुरा गर्न आधारमा समृद्ध नेपाल सुखी नेपालीको महाअभियानलाई सार्थकतामा पुर्याउने बताउनुभयो । दुई चारवटा कुरा घोकेर नेकपाको विरोध गर्दैमा जनताले विश्वास गर्न नसक्ने पनि उहाँले प्रष्ट पार्नुभयो । ‘सुनभन्दा कम छैन, हराएमा डर छैन भन्ने प्रवृत्तिका राजनीतिक दलसँग जनता समयमा नै सचेत हुनुपर्छ । जनताले सुनलाई कति क्यारेटको हो भनी छुट्याउन पर्ने जसको लागि व्यवहारको कसीबाट हेर्नुपर्छ,’ बस्नेतको भनाई थियो ।

जनताले विगतको इतिहासलाई हेर्दै कामको तुलना र अपेक्षाको आधारमा दललाई जनताले बुझ्नुपर्ने बस्नेतको सुझाव छ । ‘कांग्रेसले गीरिजाप्रसाद कोइरालाको समयमा ७५ प्रतिशत बजेट गाउँमा विनियोजन गरेको छु भनेर भाषण गर्ने तर ५१ हजारमा टाटो मार्दै भ्रम छरेका थिए । त्यसपश्चात मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारले स्थानीय तहमा तीन लाख हुँदै पाँच लाखको व्यवस्था गरेपछि मात्र कांग्रेसले गरेको भ्रमको छताछुल्ल भयो । त्यसको निरन्तरताको स्वरुप अहिलेको अवस्था आएको हो । जनताले आफ्नो शासन आफै गर्न पाउने लोकतान्त्रीक गणतन्त्र स्थापना भएको हो,’ बस्नेतले भन्नुभयो ।

चाँगुनारायण नगरपालिकामा सम्पदा वस्ती संरक्षण भनेर डेढ अर्व र भक्तपुर नगरपालिकामा डेढ अर्वभन्दा बढी रकम नेकपाको नेतृत्वले उपलब्ध गराएको, अहिले पनि ५० लाख भन्दा बढी रकम विनियोजन भएको जानकारी गराउँदै सांसद बस्नेतले चाँगुनारायण नगरपालिकाको भन्दा भक्तपुर नगरपालिकाको आय बढी रहेको बताउँदै भक्तपुर नगरपालिकामा दुई अर्वको बजेट छ तर कहाँ के भयो ? भनि प्रश्न गर्नुभयो । वर्तमान सरकारले हप्तैपिच्छे शिलान्यास, महिनै पिछे उदघाटन गर्ने वातावरण सिर्जना गरेको बताउँदै उहाँले चाँगुनारायण नगरपालिकामा मात्र यो वर्षमात्र ३३ वटा स्कुलका भवन निर्माण भएको जानकारी गराउनुभयो ।

उहाँले भक्तपुरमा स्माट सिटी, वीर अस्पताल, प्राणी उद्यान केन्द्र, सभा गृह, सडक, ढल, खानेपानीलगायतका विकासका निर्माणहरु जनताको चाहना अनुसार भइरहेको समेत बताउनुभयो । एजेण्डाविहीन राजनीतिक दललाई मतदान गर्नु देश र समाजको लागि ठूलो दुर्भाग्य हुने बताउँदै उहाँले आगामी उपनिर्वाचनमा सदनमा पछि बसेर विरोध गर्ने हैन, विकास र समृद्धिको बाटोलाई अघि बढाउने जनप्रतिनिधि आवश्यकता रहेको बताउनुभयो । उहाँले चाडपर्वले एउटा परिवारमा खुसी ल्याउने तर एउटा निर्वाचनले लाखौं जनताको भाग्य र भविष्यको फैसला गर्ने बताउनुभयो ।