जनता टाइम्स

१६ आश्विन २०७६, बिहीबार १३:४०

रक्सी बनाउने भूमिगत ट्याङ्कीले लियो पाँचको ज्यान


बारा, असोज १६ । घरेलु मदिरा उत्पादन गर्न बनाइएको भूमिगत टयाङ्कीमा परेर एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ । बाराको फेटा गाँउपालिका ४ बतरा गाँउमा रहेको जोगा मुखिया बिनको घरभित्र बनाइएको भूमिगत ट्याङकीभित्र डुवेर मुखियासहित पाँच जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा ४० वर्षीय मुखिया बिन, उनकी श्रीमति ३७ वर्षीया वर्षीया लालमुनि देवी, छोरी १० वर्षीया सुमनी कुमारी, जोगाका भाइ ३५ वर्षीय महेन्द्र मुखिया बिन र मदिरा भट्टीमा काम गर्ने भारत बहुकठवा निवासी ५५ वर्षीय गुलाबचन्द मुसहर रहेका प्रहरीले जनाएको छ । स्थानीय प्रत्यक्षदर्सीका अनुसार घरेलु रक्सी उत्पादनका लागि घरभित्रै बनाइएको भूमिगत टयाङ्कीमा बुधबार बेलुकी साढे ७ बजेतिर गुलाब चन्द पसेका थिए । टयाङ्कीभित्र पसेका गुलाब बाहिर नआएपछि उनलाई हेर्न टयाङ्कीभित्र पालै पालो पसेका घरमुली जोगासहित अरु चार जनाको पनि मृत्यु भएको हो । मृतक पाँचै जनाको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको छ ।

जोगा मुखियाको घरमा लामै समयदेखि अवैध रुपमा घरेलु मदिरा उत्पादन हुँदै आएको थियो । गत भदौ २३ गते प्रहरीले उनको घरमा छापा मारेर छतमा बनाइएको रक्सी उत्पादन गर्ने भट्टी र भाँडाकुडा नष्ट गरेको थियो । त्यसपछि मुखियाले घरभित्र नै सिमेन्टको भूमिगत टयाङ्की बनाएर फेरि घरेलु रक्सी उत्पादन गर्दै आएका थिए । प्रहरीको निर्देशन नमानेर घरभित्र बनाइएको भुमिगत ट्यांङ्कीकै कारण उनको परिवार नै बिनाश भएको छ ।

पक्की घरभित्र चारैतिरबाट पर्खाल लगाएर जमिन मुनि बनाइएको झण्डै ५ फिट गहिरो भूमिगत टयाङ्कीभित्र मदिरा बनाउनका लागि कुहाइएको वस्तुबाट विषाक्त ग्यास बन्न गइ अक्सिजनको कमी भई निसास्सिएर उनीहरुको मृत्यु भएको प्रहरीको अनुमान छ । तर मृत्युको यकिन कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने प्रहरीको भनाई छ ।

‘टयाङ्कीभित्र पसेका बेला अक्सिजनको कमी भइ निसास्सिएर वा अन्य कारणले मृत्यु भएको बारेमा अनुसन्धान भइरहेको छ, यकिन कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुन्छ,’ जिप्रका बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालले जनताटाइम्ससँग भन्नुभयो । खनालका अनुसार बुधबार राति टयाङ्की भित्रबाट शव निकाल्ने क्रममा अक्सिजनको कमी हुन गइ प्रहरीसमेत बेहोश हुने अवस्था आएपछि टयाङ्कीको दुईतिरको पर्खाल भत्काएर शव निकालिएको थियो ।