जनता टाइम्स

१६ आश्विन २०७६, बिहीबार १५:४७

नेपाल सी विचारधारामा गयो भनेर प्रचार गर्नु सङ्कीर्णता हो – प्रधानमन्त्री ओली


श्याम रिमाल र प्रकाश सिलवाल
काठमाडौं, असोज १६

प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यष केपी शर्मा ओलीले दुई पार्टीबीच आपसी सहकार्यलाई लिएर केही बुद्धिजीवीले गरेको टिप्पणी प्रति असन्तुष्टि जनाउनु भएको छ । उहाले आपसी सहकार्यलाई नेपाल ‘सी विचारधारा’मा गयो भन्नु आफूहरुलाई बदनाम गर्ने प्रयास भएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादक र प्रतिनिधिसँग कुरा गर्दै उहाले सो कुरा बताउनु भएको हो । बुद्धिजीवी भइकन अबौद्धिक तर्क गर्नेप्रति आफूलाई दया लागेको बताउदै भन्नुभयो, “हाम्रा आवश्यकताअनुसार हामी अगाडि बढ्छौँ, सी पथमा नेपाल गयो भन्नु सङ्कीर्णता हो, विचारशून्यता हो, असहिष्णुता हो ।’’ भारतीय स्वतन्त्रता सङ्ग्राममा सुवासचन्द्र बोसको क्रान्तिकारी विचार र महात्मा गान्धीको शान्तिपूर्ण धार दुवै ठीक रहेको प्रसङ्ग उल्लेख गर्दैै उहाँले सबैका विचार अध्ययन गरेर नेपालको परिस्थिति, आवश्यकता एवं परिवेशअनुसार लागु गरिने स्पष्ट गर्नुभयो ।

नेपाल अन्तरराष्ट्रिय जगतमा सुनिन र देखिन थालेको हो त भन्ने जिज्ञासाका सन्दर्भमा प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रिय हित, न्यायोचितता र अन्तरराष्ट्रिय उत्तरदायित्वका साथ अन्तरराष्ट्रिय सम्बन्धमा ध्यान दिएको जनाउनुभयो । नेपाल स्वाधीन मुलुकका रुपमा विगतदेखि रहे पनि त्यस स्वाधीनतालाई खुम्चाएर र चाउ¥याएर आफैँ प्रयोग नगर्ने स्थितिबाट अहिले बाहिर निस्किएको जिकिर गर्नुभयो । “नेपालले आन्तरिक र बाह्य रुपमा स्वतन्त्ररुपमा आफ्नो स्वाधीनताको अभ्यास गर्न थाल्यो, गरिरहेको छ । त्यसकारण नेपाल देखिन र सुनिन थालेको छ । हामी कतै झुक्दैनौँ । कतै ढल्कँदैनौँ । नेपाललाई भूपरिवेष्टितबाट भूजडित, जलजडित, हवाइजडित र सञ्चारजडित बनाउन लागेका छौँ ।” प्रधानमन्त्री ओलीले नेपालले छिमेक सम्बन्ध सुमधुर, सुढृढ, विश्वसनीय र उचाइमा पुगेको तथा अन्तरराष्ट्रिय सम्बन्ध पनि माथि उठेको उल्लेख गर्नुभयो । “नेपाल अन्तरराष्ट्रिय मञ्चमा सुनिन थालेको वास्तविक हो”, उहाँले भन्नुभयो ।

नेपालको राष्ट्रिय छवि वृद्धि भएकामा ढुक्क हुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल नेपालको रुपमा आफ्नो स्वतन्त्र आधारभूत नीतिमा उभिन्छ । हामी क्षणिक लाभमा बहकिएर हामी हिँड्दैनौँ । राष्ट्रिय हित, चरित्र र स्वाधीनताका लागि काम गर्छौँ । हाम्रो सार्वभौमिकता, विश्वबन्धुत्व, शान्तिको पक्षधरता, न्यायपूर्ण विश्वव्यवस्थाका नीति, संयुक्त राष्ट्रसङ्घका बडापत्र, असंलग्न आन्दोलन र पञ्चशीलका सिद्धान्तमा हामी अडिग रहन्छौँ ।” उहाँले गत वर्षको राष्ट्र सङ्घको महासभामा आफूले गरेको सम्बोधनमा उठाइएका विषयहरुलाई राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेरेसले समापनमा अवसरमा महत्व दिई स्मरण गर्नु एवं उल्लेख गर्नुलाई पनि महत्वपूर्ण मान्नुपर्ने उहाँको तर्क थियो ।

प्रधानमन्त्री ओलीले चाडपर्वका समयमा नयाँ नोट सटही र बजारलार्ई सरलीकृत गर्न सरकारको तयारीबारेको जिज्ञासामा प्रधानमन्त्री ओलीले अघिपछिभन्दा यस बेला व्यापार र भीडभाडजस्ता चाडको स्वभाव र चाडले उत्पन्न गरेका परिस्थति हुने भए पनि यस्तो अवस्थामा जनतालाई बढीभन्दा बढी सुविधा कसरी दिन सकिन्छ भन्नेतर्फ सरकारको ध्यान गएको बताउनुभयो । उहाँले बडादशैँमा यातायात, सुरक्षा र बजार नियन्त्रणका बारेमा ध्यान दिन सम्बन्धित निकायलाई ध्यान निर्देशन दिइसकेको बताउँदै बढी गतिमा सवारी साधन चलाएर दुर्घटना हुन नदिन र बजाउ भाउ बढी हुन नदिन सरकारले सचेतना अपनाएको र सुपथ मूल्यका पसलहरु सञ्चालन गरेको उल्लेख गर्नुभयो ।