जनता टाइम्स

१६ आश्विन २०७६, बिहीबार १८:२५

क्रान्तिका नाममा परम्परागत पहिचान र रीतिरिवाज तोड्न हुँदैन : उपप्रम पोखरेल


काठमाडौं, असोज १६ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सांस्कृतिक क्रान्तिका नाममा परम्परागत पहिचान र रीतिरिवाजलाई तोड्न नहुने बताउनुभएको छ । विजयादशमीका अवसरमा कामपा–५ हाँडीगाउँमा त्रिशक्ति युवा क्लबले आयोजना गरेको दुर्गा पूजा समारोहमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले सो भनाई राख्नुभएको हो ।

‘सांस्कृतिक क्रान्तिका नाममा परम्परागत पहिचान र रीतिरिवाजलाई तोड्न हुँदैन, कसैले पनि कसैको आस्था र विश्वासमा प्रहार गर्ने काम गर्न हुँदैन,’ उपप्रम पोखरेलले भन्नुभयो । उहाँले सवैको आस्ता र बिश्वासको सम्मान गर्न पनि आग्रह गर्नुभयो । ‘मानिसको आस्था र विश्वासको सम्मान गर्नुपर्छ । धर्म, संस्कृति हाम्रा पुर्खाको देन हो, त्यसको संरक्षण गर्नु हाम्रो दायित्व हो,’ उहाँको भनाई थियो ।

पूर्वमन्त्री एवं गत निर्वाचनमा उपप्रम पोखरेलसँग पराजीत कांग्रेस नेता डा. प्रकाशशरण महतले समाजको सांस्कृतिक परम्परा जोगाउन क्लबले गरेको प्रयास धेरैका लागि अनुकरणयोग्य भएको बताउनुभयो । परम्परागत धर्म, संस्कृति पनि समृद्धि र पहिचानका आधार रहेको उल्लेख गर्दै उहाँले सरकार पनि यसबारे अलि गम्भीर हुनुपर्ने सुझाव दिनुभयो ।

साहित्यकार रोचक घिमिरेले हाँडीगाउँ संस्कृति र धार्मिक परम्पराले समृद्ध रहेको बताउनुभयो । सो अवसरमा पूजा व्यवस्थापन समितिका अध्यक्ष सुदीप समद्दारले भाषा, संस्कृति र परम्परागत रीतिरिवाजका हिसाबले नेपाल विश्वकै धनी मुलुक रहेको तथ्य औंल्याउनु भएको थियो ।