जनता टाइम्स

२ असार २०८१, आईतवार २२:१६

प्रवासी नेपाली मञ्च इजरायलको उत्कृष्ट काम, स्थापना दिवसको खर्च कटाएर पुनःस्थापना केन्द्रलाई गर्यो आर्थिक सहयोग


प्रवासी नेपाली मञ्च इजरायलले सामाजिक क्षेत्रमा उत्कृष्ट काम गर्दै आएको काठमाडौंको पेप्सीकोलास्थित विशेष स्कुल तथा पुनःस्थापना केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।

काठमाडौं, असार २ । प्रवासी नेपाली मञ्च इजरायलले सामाजिक क्षेत्रमा उत्कृष्ट काम गर्दै आएको विशेष स्कुल तथा पुनःस्थापना केन्द्र (एसएसडीआरसीएस) लाई आर्थिक सहयोग गरेको छ । आफ्नो स्थापना दिवसको अवसरमा प्रवासी नेपाली मञ्च (ओएनएफ) इजरायलले एसएसडीआरसीएस) ५१ हजार रुपैया आर्थिक सहयोग गरेको हो ।

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको संयोजनमा प्रवासी नेपाली मञ्च इजरायलका संस्थापक सदस्यहरु आज काठमाडौंको पेप्सिकोलास्थित विशेष स्कुल तथा पुनःस्थापना केन्द्र (एसएसडीआरसीएस) को केन्द्रीय कार्यालय पुगेर अध्यक्ष सविता उप्रेतीलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो ।

रकम हस्तान्तरण गर्न प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतसहित ओएनएफ इजरायलका संस्थापक सदस्यहरु बिसा गुरुङ, बिन्दु घिमिरे, मायुस भेटवाल, रुपा लुईटेल र सामाजिक अभियन्ता अभिकेशरओली बिशेष स्कूल तथा पुनःस्थापना केन्द्रको केन्द्रीय कार्यालय पुग्नुभएको थियो ।

सो अवसरमा बोल्दै प्रेस चौतारीका अध्यक्ष बस्नेतले प्रवासी नेपाली मञ्च इजरायलका इञ्चार्ज ज्योती शर्मा र अध्यक्ष गिता सुवेदीसहितको टीमले निश्वार्थ भावले सामाजिक काममा लागेका कारण सो सहयोग गर्ने निर्णय लिनुभएको जानकारी गराउनु भएको थियो । ओएनएफको सामाजिक काममा आफू जोडिन पाएकोमा खुसी ब्यक्त गर्दै बस्नेतले सवै देशमा रहेका राष्ट्रिय कमिटीहरुलाई एसएसडीआरसीएसलाई दिल खोलेर सहयोग गर्न अपिल गर्नुभएको छ ।

यस्तै हाल नेपाल फर्कनु भएकी ओएनएफ इजरायलका संस्थापक सदस्य गुरुङले मानवीय सेवा पुर्याउने संस्थालाई आफ्नो पसिनाबाट जोगाएको थोरै सहयोग गरिएको जानकारी दिनुभयो । नेपाल फर्किसक्नु भएकी ओएनएफ इजरायलकी अर्की संस्थापक सदस्य बिन्दु घिमिरेले इजरायलमा रहेका ओएनएफका सदस्यहरु धनकारी नभए पनि मनकारी रहेकोले मनकारी संस्थालाई रोजेको जानकारी दिनुभयो ।

समाजसेवी तथा बिशेष स्कूल तथा पुनःस्थापना केन्द्रकी अध्यक्ष सबिता उप्रेतीले ओएनएफ इजरायलले आफ्नो संस्थालाई गरेको सहयोगप्रति आभार प्रकट गर्दै काम गर्न थप उत्साहित बनाएको बताउनु भयो । यस्तै सहयोग र मनकारी संस्था र ब्यक्तिहरुको कारण आफूले सुरु गरेको अभियान यहाँसम्म आइपुगेको उप्रेतीले बताउनु भयो । नेपालमा अटिज्ममा रहेका बालबालिकाहरूको वर्तमान अवस्थाबारे जानकारी दिँदै उप्रेतीले स्कुल स्थापना गर्न विभिन्न कठिनाइ भोग्नुपरेको जानकारी गराउनु भयो ।

सो अवसरमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य तथा इजरायल इञ्चार्ज ज्योती शर्मा र अध्यक्ष गिता सुवेदीले पुनःस्थापना केन्द्रमा रहेका बौद्धिक अपांगता (अटिज्म) भएका बालबालिकाहरूको उपचारमा सहयोग पुगोस भनेर मञ्चले सो सहयोग गर्ने निर्णय लिइएको जानकारी गराइएको थियो । विशेष स्कुल तथा पुनःस्थापना केन्द्रमा हाल ६० जना अटिज्म भएका बालबालिकाहरू रहेका छन ।