जनता टाइम्स

१६ आश्विन २०७६, बिहीबार १९:२२

कास्की–२ उपनिर्वाचनमा नेकपाले सर्वसम्मत उम्मेद्धार घोषणा गर्ने


पोखरा, असोज १६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कास्कीको उपनिर्वाचनका लागि दसैं लगत्तै उम्मेद्धार घोषणा गर्ने भएको छ । मंसिर १४ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने अन्तिम तयारी भईरहेको नेकपा कास्कीले जानकारी दिएको छ ।

नेकपा कास्कीले ढिलोमा कात्तिकको पहिलो सातासम्म उम्मेदवार टुंग्याउने गरी गृहकार्य गरिरहेको जनाएको छ । रवीन्द्र अधिकारीको निधनपछि कास्की २ प्रतिनिधिसभाको उपनिर्वाचन हुने एकमात्र क्षेत्र हो । नेकपा कास्कीले बिहीबार पत्रकार सम्मेलन गरी निर्वाचनको आन्तरिक तयारी गरिरहेको जनाएको हो ।

नेकपा कास्की अध्यक्ष कृष्ण थापाले उम्मेदवारको छनोट पार्टी केन्द्रले गर्ने बताउनु भयो । ‘केन्द्रको निर्णयलाई जिल्लाले लागु गर्ने हो,’ उहाले भन्नुभयो, ‘केन्द्रले तलबाट नाम पठाउनुस् भन्दा एकजनाभन्दा दुईजनाको नाम पठाउँदैनौं।’ उहाले पार्टीका भेला गरी कार्यकर्ताको सल्लाहसुझावको आधारमा उम्मेदवार सिफारिस गर्ने दाबी गर्नुभयो ।

रवीन्द्र अधिकारीले चुनाव जित्दा ८ हजार ५ सय ४२ मतको फरक थियो । उपनिर्वाचनमा ५ हजार थपेर मतान्तर १३ हजार ५ सय ४२ पुर्‍याउने अध्यक्ष थापाको दाबी छ । ‘पहिले पार्टी एउटै भएपनि चुनाव चिन्ह फरक थियो,’ उहाले भन्नुभयो, ‘अहिले पार्टी, चुनाव चिन्ह र झण्डा पनि एउटै लिएर आएका छौं।’

जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार साउन १६ सम्म एक हजार ६ सय १० मतदाता थपिएका छन । २०७४ मा यस क्षेत्रमा कुल ७० हजार ६ सय ५१ मतदाता थिए । थपिएकासहित उपनिर्वाचनमा ७२ हजार २ सय ६१ ले मतदान गर्न पाउनेछन् । यसअघिको निर्वाचनमा कास्की २ मा ३२ मतदान स्थल र ८२ केन्द्र थिए ।

उक्त क्षेत्रमा ७० हजार ६ सय ५१ मध्ये ४९ हजार ९ सय १४ मत खसेको थियो । उक्त क्षेत्रमा रवीन्द्र अधिकारी २७ हजार २ सय ७ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए । कास्की–२ मा पोखरा महानगरपालिकाका वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ पर्छन् ।