जनता टाइम्स

३ असार २०८१, सोमबार २१:५४

प्रवासी नेपाली मञ्च जर्मनीको अध्यक्षमा शेर्पा निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति


जर्मन, असार ३ । प्रवासी नेपाली मञ्च जर्मनीको अध्यक्षमा पासाङ टेण्डी शेर्पा निर्वाचित हुनुभएको छ । यही जुन १७ तारिक जर्मनीको ह्यामबर्गमा सम्पन्न सातौं अधिवेशनले शेर्पालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

प्रवासी नेपालीमञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा समिर श्रेष्ठ, सचिवमा गोबिन्द राज पाण्डे र उपसचिवमा भरत चलाउनेलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

एक जना महिला उपसचिव भने पछि पुर्ति गर्ने गरी रिक्त राखिएको छ । यसैगरी सदस्यहरुा हेमराज अधिकारी, राजेशलाल श्रेष्ठ, राजेश सुनार, कमल थापा र बृहस्पति सापकोटालाई निर्वाचित गरेको छ ।

यसअघि अधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले प्रवासी नेपाली मञ्च सवै नेपालीको दुःखमा पुग्ने भरपर्दाे सहयोगी संस्थाको रुपमा सवैतिर स्थापित हुनुपर्ने बताउनु भयो ।

अध्यक्ष थापाले प्रवासमा आएका सवै नेपालीले पहिला आफ्नो समृद्धिको लागि ध्यान दिनुपर्ने बताउँदै समृद्ध नेपाल निर्माणको काममा सघाउन पनि अपिल गर्नुभयो । प्रवासी नेपाली मञ्च बिचारमा प्रष्ट संस्था रहेको भन्दै अध्यक्ष थापाले अव काम गर्ने र नगर्नेबीच प्रष्ट रेखा कोर्ने काम सुरु भइसकेको बताउनु भयो ।

उहाँले प्रवासी समाजलाई खलबल्याउने काम नगर्न पनि सवैलाई अपिल गर्नुभयो । यसैगरी बिशेष अतिथी प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्पाले समृद्ध नेपाल निर्माणको सारथी बन्न प्रवासमा रहेका नेपाली समृद्ध हुनुपर्ने र सवै मिलेर बस्नुपर्ने बताउनु भयो ।

अधिवेशनलाई बिशेष अतिथी युरोप इञ्चार्ज भक्त वाग्ले, अन्तराष्ट्रिय कमिटी सदस्य सन्तोश भट्टराई, सल्लाहकार परिषदका उपसभापति रामशरण सिंखडालगायतका प्रवासी नेपाली मञ्चका नेतासहित जर्मनीमा रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना दिनुभएको थियो ।