काठमाडौं, ५ असार । न्युजील्यान्डले जारी टी–२० विश्वकपको सुपर–८ खेल्न नसकेपछि केन विलियम्सनले कप्तानीबाट राजीनामा दिएका छन् र केन्द्रीय सम्झौता पनि अस्वीकार गर्नुभएको छ । उहाँको यो निर्णयले सबैलाई चकित बनाएको छ । यस्तो अवस्थामा उहाँले छिट्टै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने भन्ने प्रश्न उठिरहेको छ । केनले यस अघि नै टेस्ट टिमको कप्तानी छोडिसक्नुभएको छ । केन बाहेक लुकी फर्गुसनले पनि न्यूजील्याण्ड क्रिकेट बोर्डबाट केन्द्रीय सम्झौता लिन अस्वीकार गर्नुभएको छ ।
जील्याण्ड क्रिकेट बोर्डले आफ्नो आधिकारिक वेबसाइट मार्फत यो जानकारी दिएको हो । केनले आफ्नो खेलमा ध्यान केन्द्रित गर्न यो निर्णय लिएको बताइएको छ । न्यूजील्याण्डका लागि ३५० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका केनको यो निर्णय २०२४ को टी–२० विश्वकपमा निराशाजनक प्रदर्शनपछि आएको हो । किवी टोली समूह चरणमा वेस्ट इन्डिज र अफगानिस्तानसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो ।
केनले आफुले आफ्नो खेलमा ध्यान केन्द्रित गर्न यो निर्णय गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि केन्द्रीय सम्झौता स्वीकार गर्न आफू तयार रहेको बताउनुभयो । केनले यस समयमा आफू आफ्नो परिवारसँग बढी समय बिताउन चाहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘न्युजील्यान्डका लागि खेल्न पाउनु एउटा सौभाग्यको कुरा हो र टोलीका लागि राम्रो प्रदर्शन गर्नु सधैं मेरो प्राथमिकतामा रहेको छ । तर, क्रिकेटभन्दा बाहिर मेरो जीवनमा परिवर्तन ल्याउनु भनेको मेरो परिवारसँग धेरै समय बिताउनु र उनीहरूसँग स्वदेश तथा विदेशमा अनुभवको आनन्द लिनु हो ।’
प्रतिक्रिया दिनुहोस्