जनता टाइम्स

८ असार २०८१, शनिबार ००:३३

प्रवासी नेपाली मञ्च कतारका ६ वटै नगर कमिटीको संयुक्त अधिवेशन सम्पन्न, यी हुन अध्यक्षसहितको टीम (नामसहित)


कतार, असार ८ । प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारले आफ्ना ६ वटै नगर कमिटीहरूको संयुक्त अधिवेशन सम्पन्न गरेको छ ।

प्रवासी नेपाली मञ्च कतारका नगर कमिटी इञ्चार्ज टिका कार्कीको अध्यक्षता तथा अन्तराष्ट्रिय कमिटीका उपसचिव एवं प्रचार विभाग प्रमुख चानक पोख्रेलको प्रमुख आतिथ्यतामा सनैयास्थित लालीगुराँस रेष्टुरेन्टको सभा हलमा आज अर्थात जुन २१ मा सम्पन्न संयुक्त अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

अधिवेशनले नगर कमिटी १ (कोशी) मा प्रेमकुमार बस्नेतको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति चयन गरेको छ । यसैगरी नगर कमिटी २ (मधेश) मा मो. आजाद मन्सुरीको अध्यक्षतामा २३ सदस्यीय, नगर कमिटी ३ (बागमती) मा बिकाश तामाङको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

यस्तै , नगर कमिटी ४ (लुम्बिनी) मा नारायण गैह्रेको अध्यक्षतामा २२ सदस्यीय नगर कमिटी ५ (गण्डकी) मा  गुमानसिंह खत्रीको अध्यक्षतामा २१ सदस्यीय र नगर कमिटी ६ (कर्णाली) मा तिलकसिंह ठकुरीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्बिरोध चयन गरेको छ ।

अधिवेशनको उदघाटन समारोहमा बोल्दै प्रमुख अतिथी चानक पोखरेलले प्रवासमा रहेर पनि देशको समृद्धि र जनताको प्रिय पार्टी नेकपा एमालेको बिचार र दृष्टिकोणलाई प्रवासी नेपाली मञ्चका सदस्यहरु सवैभन्दा माथि रहेको बताउनु भयो । ‘हामीले सन १९९६ बाट प्रवासमा सङ्गठन स्थापना गरेको हौं, यसको सुरुवात हङकङबाट गरेका थियौं । अहिले विश्वभरीमा ३७ देशमा प्रवासी नेपाली मञ्चको विस्तार भएको छ,’ उपसचिव पोखरेलले भन्नुभयो ।

उहाँले पार्टीको आन्दोलनको रणनीति, नेकपा एकताको इतिहासको पृष्ठभूमि, पार्टी फुटको सन्दर्भ समेतको चर्चा गर्नुभयो । यसैगरी सङ्गठनको सातौँ अधिवेशन सफल बनाउने जिम्मा ३९४ जना सदस्यहरूको बराबर रहेको बताउनु भयो ।

‘पदले कोही सानो र कोही ठूलो होला तर अधिवेशन सफल पार्ने जिम्मेवारी सबैको बराबर छ,’ पोखरेलले भन्नुभयो । उहाँले ओएनएफ अन्तराष्ट्रिय कमिटीले श्रमिक राहत कोष खडा गरेर प्रवासमा रहेका सवै श्रमिकको समस्या समाधानका लागि ठोश पहलकदमी अघि बढाएको जानकारी पनि दिनुभयो । ‘अन्तराष्ट्रिय कमिटीको मातहतमा श्रमिक कोष खडा गरेर त्यसको विधान बनाएर श्रमिकको हितको निम्ति कार्य गर्न अन्तराष्ट्रिय कमिटी अगाडि बढिसकेको छ,’ पोखरेलले भन्नुभयो ।

देशको जनसंख्याको एक तिहाई संख्या प्रवासमा रहेर विप्रेषणमार्फत देशको ६५ प्रतिशत आर्थिक भार धानिरहेको हुँदा लगातार एक वर्षसम्म रेमिट्यान्स पठाउने श्रमिकहरूको परिवारको शिक्षा र स्वास्थ्यको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने भन्दै पोखरेलले नेकपा एमाले यही अवधारणासहित अगाडि बढिसकेको जानकारी पनि दिनुभयो ।

यस्तै प्रवासबाट नै भोटमार्फत आफ्ना प्रतिनिधि चुन्ने अधिकार पाउनु पर्ने एजेन्डामा समेत प्रवासी नेपाली मञ्चले पार्टी केन्द्रमा आफ्नो प्रष्ट धारणा राखिसकेको हुँदा चाँडै यस सन्दर्भमा निर्णय हुने बताउनु भयो ।

कार्यक्रममा ओएनएफ कतारका संगठन विभागका प्रमुख बिनेश तामाङ्गले यसअघिका अध्यक्षहरूले अहोरात्र खटेर सङ्गठनलाई यहाँसम्म ल्याएकोमा धन्यवाद दिनुभयो ।उहाँले प्रदेश अनुसारको नयाँ नगर कमिटीको अवधारणा कसरी बन्यो भन्ने सन्दर्भमा समेत सबिस्तार चर्चा गर्नुभएको थियो ।

प्रवासी नेपाली मञ्च कतारका सातौँ राष्ट्रिय अधिवेशन संयोजक अफसर अलि खानले प्रवासमा सङ्गठनको मेरुदण्ड नै नगर कमिटीहरू रहेको बताउनु भयो । जसरी स्वदेशमा गाउँ कमिटी तथा नगर कमिटीहरू हुन्छन, त्यसरी नै यहाँ (कतार) नगर कमिटीहरूको भूमिका हुने उहाँको भनाई थियो।

प्रवासी नेपाली मञ्च कतारका ४ नम्बर नगर कमिटी अध्यक्ष लोकबहादुर जोगीले स्वागत गर्नुभएको सो कार्यक्रममा नगर कमिटीका अध्यक्षरू विकास तामाङ्ग, नारायण गैह्रे, प्रेम बस्नेत, छत्र लिम्बुलगायतका बक्ताहरुले शुभकामना दिनुभएको थियो ।