जनता टाइम्स

१७ आश्विन २०७६, शुक्रबार १४:४६

खनाल निवास पुगे अमेरिकी राजदुत : इन्डो–प्यासिफिक रणनीतिबारे दिए यस्तो प्रष्टिकरण


काठमाडौं, असोज १७ । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले इन्डो–प्यासिफिक रणनीतिमा नेपाललाई सहभागी गराउन आफूहरुले प्रयास नगरेको प्रष्टिकरण दिनुभएको छ । राजदूत बेरीले आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग भेट गरी सो प्रष्टिकरण दिनुभएको हो ।

उहाँले आफ्नो मुलुकले अघि सारेको इन्डो–प्यासिफिक रणनीति अन्य देशमा सैन्य गतिविधि वा राजनीतिक गतिविधि अघि बढाउन नभएको समेत बताउनु भयो । ‘इन्डो–प्यासिफिक रणनीति कुनै सैन्य संगठन होइन । यो कुनै राजनीतिक मोर्चा पनि होइन,’ आफूसँगको भेटमा अमेरिकी राजूदत बेरीसँग भनाइ उधृत गर्दै वरिष्ठ नेता खनालले जनताटाइम्ससँग भन्नुभयो, ‘हामी नेपाललाई यसमा ल्याउन वा तान्न प्रयत्न गरिरहेका छैनौं भन्नुभयो ।’

भेटमा बरिष्ठ नेता खनालले नेपालले असंलग्नताको नीति लिएको स्मरण गर्दै त्यस्ता रणनीतिक साझेदारीहरुमा तटस्थताको भूमिका निर्वाह गर्ने बताउनु भयो । पूर्वप्रधानमन्त्री खनालले अमेरिकी राजदुत महोदयलाई स्वागत गर्दै नेपाल अमेरिका बीचको मैत्रीपूर्ण सम्बन्ध अझ विकास होस भन्ने कामनासमेत गर्नुभयो । भने राजदुत बेरीले नेपाललाई अमेरिकाले सहयोग जारी गर्न चाहेको र खासगरी देशमा स्थायित्व स्थापना भएकोले अमेरिकाको सहयोगलाई विस्तार गर्न तयार भएको कुरा बताउनु भयो । पूर्व प्रधानमन्त्री खनालले अमेरिकाको निर्सत सहयोगलाई स्वागत गरीने र यसबाट नेपालको विकासको लागी फाइदा पुग्ने बताउनु भयो ।

विगत लामो समय देखी भई आएको अमेरिकी सहयोगको लागी धन्यवाद दिदै अब थप सहयोगको साथै लगानी समेत बृद्धि कुरामा आफु विश्वस्त रहेको बताउनु भयो । राजदुत बेरीले हालै सम्पन्न मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौताले नेपालको पूर्वाधार विकास गर्न खास गरी विद्युत प्रसारण र सडक सुधार आयोजनामा सहयोग पुग्ने बताउनु भयो र यसमा अन्य कुनै सामरिक स्वार्थ नभएको कुरा बताउनु भयो । भेटमा पूर्वप्रम खनालका विदेश मामिला सहयोगी मिलन तुलाधरको पनि उपस्थिती रहेको उहाँको स्वकीय सचिव कृष्ण भट्टराईले बताउनु भयो । राजदुत बेरीले डल्लुस्थित खनाल निवासमै पुगेर भेटबार्ता गर्नुभएको हो ।