जनता टाइम्स

१७ आश्विन २०७६, शुक्रबार १९:३६

ज्ञानेन्द्र शाहीले किन दिएनन प्रहरीमा उजुरी ?


चितवन, असोज १७ । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै हिँडेका ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको लामो समय बितिसक्दा पनि किटानी जाहेरी नदिएको पाइएको छ । चितवन प्रहरीले बिहीबार प्रेस विज्ञप्ती जारी गरेर उक्त घटनाको सम्बन्धमा सम्बद्ध पक्षबाट जाहेरी प्राप्त नभएको जनाएपछि यो तथ्य बाहिर आएको हो ।

‘जाहेरी प्राप्त नभएपनि घटनाको सत्यतथ्य छानबिनका लागि प्रहरी कार्यालय चितवनले अनुसन्धान टोली बनाइ घटनाको सम्बन्धमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको सबैमा जानकारी गराइन्छ,’ विज्ञप्तीमा भनिएको छ । शाहीमाथि कुटपिटको घटना दिउँसै भएको थियो, घटनास्थलबाट चितवन जिल्ला प्रहरी कार्यालय नजिकै रहेको छ । शाहीमाथि आक्रमण हुँदै गरेका भिडियो सार्वजनिक भएपनि प्रहरीले एकजना आक्रमणकारी पनि अहिलेसम्म समातेको छैन । चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ल भिडियो फुटेजहरुमा आक्रमण गर्नेहरु ६/७ जना देखिएपनि अनुहार कसैको नचिनिने बताउनु भयो । शाही सो होटलमा छन् भन्ने पूर्व सूचना प्रहरीलाई नभएको पनि विज्ञप्तीमा जनाइएको छ ।

घटनामा सत्तारुढ दल निकटका युवाहरुको हात रहेको आरोप लगाइए पनि एकिन नभएपछि उजुरी नदिइएको बताइएको छ ।  घटना हुनु भन्दा केही दिनअघि नेपालगन्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि दुब्र्यवहार गरेका शाहीले सोही आधारमा नेकपाका अध्यक्ष पुष्पकमल दहाल, प्रचण्ड, मन्त्री योगेश भट्टराई, भरतपुर महानगरका मेयर रेनु दाहालसहित नेकपाका कार्यकर्ताले आफूमाथि आक्रमण गरेको जिकिर गरेका थिए । तर उजुरी दिन भने नगएका हुन ।