जनता टाइम्स

१० असार २०८१, सोमबार ०८:०४

अन्तिम समयमा गोल गर्दै समूह विजेता बन्यो जर्मनी


फ्यांकफर्ट, असार १० । स्विट्जरल्यान्डलाई बराबरीमा रोक्दै आयोजक जर्मनी समूह ‘ए’ को विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ ।

निकलास फुलक्रुगले इन्जुरी समयमा गोल गरेपछि जर्मनी र स्विट्जरल्यान्डबीचको खेल १–१ को बराबरीमा टुङ्गिएको हो । सोमबार बिहान भएको खेलमा अग्रता भने स्विट्जरल्यान्डले लिएको थियो ।

खेलको २८ औँ मिनेटमा डान एनडोयोले स्विस टोलीलाई अप्रत्याशित अग्रता दिलाएका थिए । तर अन्तिम समयसम्म अग्रता कायम राख्ने सकेन । जितसँगै समूहको विजेता बन्ने सपना बोकेको स्विट्जरल्यान्डलाई ९२ औँ मिनेटमा फुलक्रुगले ठुलो झट्का दिए । योसँगै जर्मनीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेको छ ।

बराबरीपछि ३ खेलबाट जर्मनीको ७ अङ्क रहेको छ । स्विस टोलीले समान खेलबाट ५ अङ्क रहेको छ । यस समूहको अन्य खेलमा हंगेरीले स्कटल्यान्डलाई १–० गोलले हरायो । यो नतिजापछि हंगेरीले प्रतियोगिताको नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ भने स्कटल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ । हंगेरीको ३ अङ्क छ भने स्कटल्यान्डको १ अङ्क मात्र रहेको छ ।