जनता टाइम्स

१७ आश्विन २०७६, शुक्रबार १९:५८

आइजीपी खनालको निश्कर्ष : नेपाल प्रहरीलाई अझै राम्रो बनाउने भन्दा अरु कुनै विकल्प छैन


काठमाडौं, असोज १७ । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई अझै राम्रो बनाउने भन्दा अरु कुनै विकल्प नभएकोले यसको सुदृढिकरणको लागि सबैको श्रृजनात्मक प्रयास जरुरी रहेको बताउनु भएको छ । प्रहरी प्रधान कार्यालयमा आज प्रहरी अधिकृत तथा जवानहरुलाई शान्ति सुरक्षा एवं समसामयिक विषयमा निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले सो कुरा बताउनु भएको हो ।

नजिकिँदै गरेको नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दिपावली एवम् छठ पर्व तथा नेपाल संवतको अवसरमा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन अझ बढी चनाखो भई आफ्नो क्षमताको प्रदर्शन गर्दै जिम्मेवारी वहन गर्न पनि आइजीपी खनालले निर्देशन दिनुभयो । नागरिकलाई पुर्याउँदै आएको सेवाहरुलाई अझ बढी परिस्कृत गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उहाँले चाडपर्वको समयमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न समुदायसँग सहकार्य गर्दै जानुपर्नेमा पनि जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारले लिएको दृष्टिकोण अत्यन्तै राम्रो भएको चर्चा गर्दै त्यसलाई आत्मसात गर्दै प्रहरी कर्मचारीहरुले इमान्दारिता एवं निष्ठापूर्वक आफ्नो जिम्मेवारी पुरा गर्न अग्रसर हुन पनि निर्देशन दिनुभयो । अरुको भन्दा पनि आफ्नो क्षमतामा विश्वास गर्दै आफूलाई दिएको जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पन्न गर्न सबै प्रहरी कर्मचारी एक्यबद्ध भई सक्रिय रुपमा प्रस्तुत हुनसमेत उहाँले निर्देशन दिनुभयो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ५ नम्बर प्रदेश तथा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा ती प्रदेश मातहत १६ जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसँग नजिकै आउँदै गरेका चाडबाडका बेला अवलम्बन गर्नुपर्ने शान्ति सुरक्षासँग सम्बन्धित नीतिहरु, समुदाय–प्रहरी साझेदारी कार्यक्रम, प्रहरी कर्मचारीहरुको बोली, वचन, व्यवहार र पोशाक, प्रहरी कार्य एवं समसामयिक विषयमा शुक्रबार भिडियो कन्फ्रेन्सद्वारा निर्देशन दिनुभएको छ । चाडपर्वको अवसरमा हुन सक्ने चोरी, लुटपाट, डकैती लगायत अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरी सक्रियताको लागि भिडियो कन्फ्रेन्सद्वारा उक्त निर्देशन दिनुभएको हो ।