जनता टाइम्स

१३ असार २०८१, बिहीबार १३:१८

रौतहटमा बर्थिङ सेन्टर निर्माण हुँदै, सुत्केरी गराउन बाहिर जान नपर्ने


रौतहट, १३ असार । रौतहटको कटहरिया नगरपालिका–८ पिप्रा पोखरियामा बर्थिङ सेन्टर निर्माण सुरू भएको छ । कटहरिया नगरपालिकाको लगानीमा वडास्तरीय बजेटबाट पिप्रा पोखरिया र बलुआ बीचमा दुवै गाउँका मानिसलाई पायक पर्ने स्थानमा बर्थिङ सेन्टर निर्माण कार्य सुरू भएको हो । वडा–८ का अध्यक्ष समिसविक्रम साहले ४५ लाख रुपैयाँको लागतमा बर्थिङ सेन्टर भवन निर्माणको पहिलो चरणमा कम्पाउण्ड वाल निर्माण भइरहेको जानकारी दिनुभएको छ ।

यस आर्थिक वर्षको लगत्तै पुनः नगरपालिकाबाट आउने थप बजेटबाट भवन निर्माण सुरू गरिने साहले जानकारी दिनुभयो । यसैबीच, कटहरिया नगरपालिकामा मेयर अजय प्रकाश जैसवालले आज निर्माण कार्यको स्थलगत निरीक्षण गर्दै गुणस्तरमा कुनै सम्झौता नगर्न वडाध्यक्ष साह तथा निर्माणमा कार्यरत मिस्त्रीलाई निर्देशन दिनुभयो ।

वाल निर्माणपछि आर्थिक वर्षको पहिलो चरणमै नगरपालिकाबाट आवश्यक लगानी गरी आगामी आर्थिक वर्षभित्र भवन निर्माण पूरा गराई बर्थिङ सेन्टर सञ्चालन गराउने मेयर जैसवालले प्रतिवद्धता जनाउनुभएको छ । बर्थिङ सेन्टर सञ्चालन पछि पिप्रा पोखरिया र बालुवा गाउँका सयौं महिलाले सुत्केरी गराउन अन्यत्र जानुपर्ने झन्झटबाट छुटकारा पाउने साहले बताउनुभयो ।