काठमाडौं, असोज १८
गैरआवासीय नेपाली संघ नेपाल (एनआरएनए)ले स्पोर्ट्स एकेडेमी गठन गरेको छ । शुक्रबार एनआरएनएका अध्यक्ष भवन भट्ट र अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसीसीका युवा संयोजक सुदन थापाले संयुक्त रूपमा एकेडेमीको लोगो सार्वजनिक गरे ।
लोगोमा एनआरएनको ६ क्षेत्रको प्रतिनिधित्व हुने गरी ६ ओलम्पिक रिंग राखिएको छ । कार्यक्रममा अध्यक्ष भट्टले विश्वभर रहेका गैरआवासीय नेपाली खेलाडी, प्रशिक्षक प्राविधिक र खेल विज्ञहरूको ज्ञान सीपलाई नेपाली खेलकुदको विकासमा उपयोग गर्ने र एनआरएनको खेल प्रतिभालाई खेलकुदको मूलधारमा ल्याउनका निम्ति स्पोर्ट्स एकेडेमीको गठन गरेको जानकारी दिनुभयो ।
आईसीसी युवा परिषद्का संयोजक सुदन थापाले स्पोर्ट्स एकेडेमीले एनआरएनएको पहिलो र दोस्रो पुस्ताका खेलाडीहरूलाई अभियानमा जोड्ने बताउनु भयो । पत्रकार सम्मेलनमा जनाइए अनुसार विश्वका ८३ मुलुकमा रहेका गैरआवासीय नेपालीहरूमा ३० देखि ४० हजार सम्मको खेलकुद क्षेत्रमा प्रत्यक्ष संलग्नता छ । खेलकुदका विभिन्न गतिविधिहरू समय समयमा भएपनि त्यो व्यवस्थित भने हुन सकेको छैन ।
पत्रकार सम्मेलनमा एनआरएनएले तत्काल चार विभिन्न खेलकुद कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी पनि दिएको छ । जस अनुसार अक्टोवर ११ मा एनआरएनए हेरिटेज वाकाथन हुनेछ । एनआरएनए स्पोर्ट्स एकेडेमीका निम्ति दौडको नारा दिइएको उक्त वाकाथन स्वयम्भूदेखि सुरु भएर पशुपतिमा टुंगिने र त्यसमा २ सय बढी खेलाडीहरूले भाग लिने अपेक्षा गरिएको छ ।
अक्टोबर १३ मा एनआरएन गल्फ च्याम्पियनसिप, अक्टोबर १४ मा चौथो एनआरएन फुटसल प्रतियोगिता र सोही दिन एनआरएनए स्पोर्ट्स मिट हुनेछ ।
प्रतिक्रिया दिनुहोस्