जनता टाइम्स

२३ बैशाख २०७६, सोमबार ०८:२६

दुई हजार सरकारी वेबसाइटमाथि चिनियाँ ह्याकरको आक्रमण, पाँच घन्टा सेवा अवरुद्ध


काठमाडौं, बैशाख २३

आइतबार दिनभरजसो सरकारी वेबसाइटहरू खुल्न सकेनन् । एकसाथ सर्भर ‘डाउन’ हुँदा वैदेशिक रोजगार, राहदानी, राजस्व र मालपोतलगायत सरकारी सेवा लिन बसेका सेवाग्राहीले सास्ती खेप्नुपर्यो । एकैपटक दुई हजारभन्दा बढी सरकारी वेबसाइटले काम नगर्दा अनलाइन प्रणालीमा आधारित सरकारी सेवा पूर्ण अवरुद्ध भयो । चिनियाँ ह्याकरले सरकारी वेबसाइटमा आक्रमण गरेको राष्ट्रिय सूचना प्रविधि केन्द्रको अनुसन्धानले पत्ता लगाएको छ ।

त्यसो त चार दिनदेखि लगातार सरकारी वेबसाइटमाथि आक्रमण प्रयास भइरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलले बताउनु भयो । उहाँका अनुसार निरन्तर आक्रमणकै कारण सरकारी वेबसाइटमा समस्या आएको हो ।

‘आक्रमण रोक्न हामीले लगातार प्रयास गर्यौँ । तर, छिनछिनमा हुने आक्रमणले सबै सरकारी वेबसाइट एकसाथ बन्द हुन पुगे,’ पाखरेलले भन्नुभयो, ‘डाटा सेन्टरमा सुरक्षा प्रणालीका रूपमा डिजिओएस हार्डवेयर र उच्च क्षमताको सर्भर प्रयोग गरिएको छ । त्यसका बाबजुद वेबसाइटमा आक्रमणकारीले एकैपटक ठूलो मात्रामा ट्राफिक पठाउँदा थेग्न नसकेपछि सर्भर डाउन भएको हो । ’केही दिनयता सरकारी वेबसाइट छिनछिनमा बन्द हुने समस्या देखिएको थियो । आइतबार १०ः३० बजेपछि करिब पाँच घन्टा सरकारी वेबसाइट पूरै बन्द रहे ।

‘कहिलेकाहीँ फेसबुक पनि रोकिन्छ । यस किसिमको जोखिम आउँछ भनेर सचेत रहने विषय हो, हामी अहिले समस्याको छिद्र पहिल्याइरहेका छौँ । आगामी दिनमा यस किसिमको आक्रमण आउन नदिने प्रयासमा जुटिरहेका छौँ । सम्भवत अब यो हदसम्मको समस्या बेहोर्नुपर्ने छैन,’ ’ सहायक निर्देशक पोखरेलको भनाई उधृत गर्दै नयाँ पत्रिका दैनिकले लेखेको छ, ‘केन्द्रको अनुसन्धानमा चिनियाँ भूमिबाट साइबर हमला भएको देखिएको छ । कोरिया सरकारको सहयोगमा हेटौँडामा ब्याकअपको रूपमा छुट्टै डाटा सेन्टर छ ।

सरकारले त्यो डाटा सेन्टर यसै महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । हेटौँडाको डाटा सेन्टर सञ्चालनमा आए यस किसिमका आक्रमण हुँदा विकल्प तयार रहनेछ । साइबर सुरक्षाको क्षेत्रमा सक्रिय अनुसन्धानकर्ता सचिन ठकुरी सरकारी वेबसाइटमा पुराना तथा अवधि सकिएका सफ्टवेयर प्रयोग भएका कारण यस्तो समस्या आउने गरेको बताउँछन् । ‘ब्याकअपका रूपमा सर्भरको व्यवस्थापन गर्न सकिएको भए यस्ता आक्रमण आएको अवस्थामा छोटो समयमै समस्या समाधान गर्न सकिने थियो,’ पोखरेलले भन्नुभयो ।