जनता टाइम्स

१८ आश्विन २०७६, शनिबार १७:०४

जनताका सामु बोली होइन काम गरेर देखाउने सांसद महेश बस्नेतको उद्घोष


भक्तपुर, असोज १८

प्रतिनिधिसभाका सांसद महेश बस्नेतले बोलीमा होइन व्यवहारमा गरेर देखाउने बताउनु भएको छ । सूर्यविनायक नगरपालिका–४ कार्यालयले आज दधिकोटको चित्रपुरमा आयोजना गरेको स्वबासीहरुलाई लालपुर्जा वितरण, शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै सांसद बस्नेतले विगतका जनप्रतिनिधिले जनतालाई बोलिले मात्र आश्वासन दिएको भन्दै आफुले गरेर देखाउन शुरु गरेको बताउनुभयो ।

विगतका जनप्रतिनिधिले बोलीमात्र रहे जसले गर्दा जनताले दुःख पाएको बताउँदै उहाले अबका दिनमा जनताले विकास र समृद्धिको पक्षमा दुःख पाउने दिन क्रमशः रुपमा समाप्त हुँदै जाने उद्घोष गर्नुभयो । विजया दशमीको उल्लाससँगै स्ववासीले लालपुर्जा पाएपछि अर्को उल्लास थप गरेको बताउँदै उहाँले जनताको माझ चुनावको समयमा प्रतिवद्धतालाई अक्षरस पुरा गर्दै गएको बताउनुभयो । एक युगमा एक पटक आउने अवसर चित्रपुरवासीले प्राप्त गरेको बताउँदै उहाँले जग्गा विहिन जनताको सपनालाई विपनामा परिवर्तन गरेको बताउनुभयो ।

भक्तपुरमा कुनै पनि राहत पाउन नेकपा हुनुपर्दैन तर सवै राहत पाएका जनता नेकपा हुने दिन आएको बताउँदै उहाँले जनतालाई घर घरमा सेवा प्रदान गर्नु नै सुशासन भएको उल्लेख गर्नुभयो । चित्रपुरमा क्रसरोड बनाउन लागेको चर्चा गर्दै सांसद बस्नेतले ललितपुरको बालकुमारीदेखि बालकोट, चित्रपुर हुँदै शिकारीटार, अनन्तलिङ्गेश्वर मन्दिर, कालिकाडाँडा हुँदै रानीकाटेसम्म जाने सूर्यविनायक नगरपालिकाको मुख्य सडक बन्न लागेको बताउनुभयो । कार्यक्रममा ९८ स्वबासी परिवारलाई लालपुर्जा वितरण गरिएको थियो ।