जनता टाइम्स

२३ बैशाख २०७६, सोमबार ०८:२६

कांग्रेसलाई महेश बस्नेतको सुझाव : यो विपीको होइन, केपीको सरकार हो, नआत्तिनोस


काठमाडौं, वैशाख २३

नेपाल कम्युनिष्ट पार्टीका सांसद एंव पूर्वमन्त्री महेश बस्नेतले यो सरकार केपी शर्मा ओलीको भएकाले नआत्तिन आग्रह गर्नुभएको छ । उहाले सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भन्ने शब्द प्रयोग भएकोमा विपक्षी दलले विरोध गरिरहेको सन्र्दभमा सो कुरा बताउनु भएको हो ।

‘उहाहरुले (कांग्रेस) एउटा हाइलाइट गर्नुभयो राष्ट्रपति ज्यूले मेरो सरकार भन्नुभयो, राष्ट्रपति संविधानको संरक्षक हुनुहुन्छ, राष्ट्रपति जनप्रतिनिधि निकायको प्रमुख अंग हुनुहुन्छ, राष्ट्रपति मुलुकको अभिभावक हुनुहुन्छ । राष्ट्रपतिले मेरो सरकार भन्नु स्वभाविक हो र अन्तराष्ट्रिय अनुभवले पनि मेरो सरकार भन्ने अनुभव छ । धेरै सदस्य भएको परिवारमा मेरो बुबा आमा भन्नु र हाम्रो बुबा आमा भन्नुमा खास तात्विक भिन्नता छैन’, सांसद बस्नेतले अगाडी भन्नुभयो, ‘विशेश्वरप्रसाद कोइरालाले पनि चाइनामा गएर मेरो सरकार भन्नुभयो, तर संजोग के भो भने त्यसपछाडी फर्के आएपछि राजाले कू गरे त्यही भएर कांग्रेस डराएको जस्तो छ । यो विपीको सरकार होइन् केपीको सरकार हो,  त्यसैले धेरै नआत्तिनुहोस् ।’

सांसद बस्नेतले सरकारले नीति तथा कार्यक्रममा ल्याएको लोकप्रिय कार्यक्रमबाट प्रतिपक्ष अत्तालिएको पनि बताउनुभयो । ‘पहिले त उहाँहरुले यो परम्परागत छ भन्नेबाट सुरु गर्नुभयो । महत्वाकांक्षी र सपनाको पुलिन्दा हो भन्नुभयो’ उहाले भन्नुभयो, मलाइ लाग्छ उहाँहरुको टिप्पणी चाहिँ परम्परागत हो । लोकप्रिय कार्यक्रमबाट उहाँहरु अताल्लिनुभएको छ ।’