जनता टाइम्स

१९ आश्विन २०७६, आईतवार १९:०८

बिनोदको अर्धशतकमा हङकङमाथी नेपालको सहज जित


काठमाडौं, असोज १९

टी–ट्वान्टी सिरिजमा नेपालले हङकङलाई पराजित गरेको छ । पाँच देशीय सिरिजको पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको हो । अल अम्रेट क्रिकेट मैदान मस्कटमा भएको खेलमा हङकङले दिएको १२६ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर १९ औं ओभरमा भेटाएको हो ।

नेपालको जितमा बिनोद भण्डारीले ५८ रनको अविजित शानदार अर्धशतकिय इनिङ्स खेले । पहिलो बलमै कप्तान पारस खड्कालाई गुमाएको नेपालको शुरुवात भने निक्कै खराब रह्यो । ३६ रनमा चार विकेट गुमाएको नेपालका लागि भण्डारी र आरिफ शेखले पाचौं विकेटका लागि ६१ रनको साझेदारी गरे । शेख २१ रनमा आउट भए । नेपालका लागि सोमपाल कामीले १३, पवन सरार्फ १०, दीपेन्द्रसिंह एैरी ६ र रोहितकुमार पौडेल ५ रनमा आउट भए ।

त्यसअघि नेपालले टस जितेर हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । शुरुवात राम्रो भएपनि त्यसपछि नेपाली बलरहरु हङकङका ब्याटसम्यानमाथी हावी भएका थिए । हङकङले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २५ रनमात्र जोड्यो । ४ ओभरमा विना विकेटको क्षति ३५ रन जोडेको अवस्थामा बलिङमा आएका कारणले एकै ओभरमा तीन विकेट लिएपछि हङकङ दबाबमा परेको थियो ।

हङकङका लागि अहसान अब्बासी १३, निजाकत खान २३ रनमा आउट भए । कप्तान किन्चित ३१, वाकस बर्कत ३७ रन जोडे । एहसान खान १० रनमा अविजित रहे । नेपालका लागि करण केसीले ४ विकेट लिएका थिए । अभिनाश बोहोराले ३ ओभरमा १७ रन खर्चेर १७ रन तथा ललित नारायण राजवंशीले ४ ओभरमा १७ रन मात्र खर्चे । प्रतियोगिता अन्तर्गत नेपालले भोली विहान आयरल्याण्डसँग प्रतिष्पर्धा गर्नेछ ।