जनता टाइम्स

२० आश्विन २०७६, सोमबार १४:५६

करणको सनसनी ब्याटिङमा नेपालको शानदार जित


काठमाडौं, असोज २०

अन्तिम ओभर जितका लागि १७ रन । क्रिजमा थिए, करण केसी र सोमपाल कामी । करण ९ बलमा १४ रन बनाएर स्ट्राइकमा थिए भने सोमपाल २ बलमा ३ रन बनाएर साथ दिईरहेका थिए ।

तिव्र गतिका नेदरल्याण्डका बलर साने सेन्टर अन्तिम ओभर लिएर आए । नेपालीलाई अझै आशा थियो, अन्तिम ओभरमा चमत्कार हुन्छ भनेर । पहिलो बलमा करणले छक्का प्रहार गरेपछि नेपालीलाई जितको आशा पलायो । अब चाहियो ५ बलमा ११ रन । दोस्रो बल अलिक बाइड फाले, जुन करणले छुन सकेनन् । फेरी अलिकति आशा मर्यो ।

तेस्रो बल मा चौका लाग्यो, तब नेपालीको आशा झनै धेरै बढेर गयो । अब चाहियो, तीन बलमा सात रन । चौथो बलमा करणले पुन छक्का हानेपछि नेपालीले खेल नहार्न पक्का भयो । यानिकी नेपाल र नेदरल्याण्डको खेल बराबरीमा आयो । नेपालले थप दुई बलमा एक रन चाहिएको थियो जितका लागि । नभन्दै पाचौं बलमा रन लिएर करणले नेदरल्याण्डले जितिसकेको खेल नेपालको पक्षमा ल्याए ।

अल अम्रेट क्रिकेट मैदानमा नेदरल्याण्डले दिएको १ सय ३० रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गरेको हो । नेपालको जितमा करण केसी नायक बन्दै १४ बलमा १ चौका र ३ छक्कासहित अविजित ३१ रन बनाए । यस्तै कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाए । बिनोद भण्डारीले २६ रन जोडे ।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ३३ रन बनायो । नेदरल्याण्डका लागि म्याक्सवेल प्याट्रिक ओडोडले सर्वाधिक ४३ रन बनाए । यस्तै कोलिन एकेर्मानले २९ तथा एण्टोनियस स्टलले २१ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट हात पारे । यस्तै करण केसीले ३ ओभर ३ बलमा १७ रन खर्चेर ४ विकेट लिए । ललित नारायण राजवंशीले १ विकेट लिए । करणको प्रतियोगितामा यो आठौं विकेट हो । पहिलो खेलमा हङकङसँगपनि उनले ४ विकेट लिएका थिए ।