जनता टाइम्स

२९ असार २०८१, शनिबार २२:२६

प्रवासी नेपाली मञ्च साउदी अरवको अध्यक्षमा अमर श्रेष्ठ निर्वाचित, यस्तो बन्यो २१ सदस्यीय कार्यसमिति


साउदी अरब, असार २९ । प्रवासी नेपाली मञ्च साउदी अरवको अध्यक्षमा अमर श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन बिभाग प्रमुख काशीनाथ अधिकारी प्रमुख अतिथी र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा बिशेष आतिथ्यतामा जुलाई १२ तारिक सम्पन्न तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा किशोर राई, सचिवमा राजु खनाल र उपसचिव वसन्त राईलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । यसैगरी अधिवेशनले खेमबहादुर गुरुङ, बिज्ञान राई, लालबहादुर मोक्तान, बोमबहादुर पुन, खडग श्रेष्ठ, हरिभक्त भुसाल, कैशिल्या गिरी, पुनम नेपाली, होमबहादुर तामाङ, नागेश तामाङ, बिक्रम बिक, रोम लामा, खेमबहादुर पुन, भीम योङ्हाङ, डेकेन्द्र खत्री, कुमार श्रेष्ठ र बमबहादुर राईलाई सदस्यमा निर्वाचित गरेको छ ।

नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई अन्तराष्ट्रिय कमिटीका अध्यक्ष थापाले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो ।

यसअघि अधिवेशनको उदघाटन समारोहमा बोल्दै प्रमुख अतिथी काशीनाथ अधिकारीले नेकपा एमालेले मात्रै देशको बिकार र बिदेशमा रहेका नेपालीको हितमा काम गर्ने तथ्य स्थापित भइसकेको भन्दै अव प्रवासबाट एमाले जिताउने अभियान सञ्चालन गर्नुपर्ने बताउनु भयो । उहाँले आफ्ना् पार्टी बिदेशी भूमिका कुनै पनि नेपाली कामका लागि जान नपरोस भनेर योजना बनाइरहेको जानकारीसमेत दिनुभयो ।

कार्यक्रममा बिशेष अतिथी प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले आफूहरु बिदेशी भूमिका बिभिन्न कारणले आइपुगेका सवै प्रवासी नेपालीलाई समृद्ध बनाएर मातृभूमिको समृद्धिमा योगदानका लागि अभियान चलाइरहेको बताउनु भयो । प्रवासी नेपाली मञ्च स्पष्ट नीति, कार्यक्रम र योजनासहित बिश्वभर अभियानमा रहेको भन्दै अध्यक्ष थापाले अव मातृभूमि नेपालको बिकास र समृद्धिका लागि सवै प्रवासी नेपाली एकजुट भएर नेकपा एमालेको अभियानमा साथ दिनुपर्ने बताउनु भयो ।

उहाँले प्रवासमा हरेक देशमा नेपालीले समस्या भोग्नुपरेको भन्दै प्रवासी नेपाली मञ्च नेपालीको समस्यामा सवैभन्दा पहिला पुग्ने योजना बनाउन पनि सुझाव दिनुभयो । यस्तै अध्यक्ष थापाले पछिल्लो समय गैर आवासीय नेपाली संघको बिषयमा प्रवासमा रहेका अगुवा भनिएकाहरुबाट भएको हर्कत निन्दायोग्य रहेको भन्दै अव सवले त्यस्ता प्रबृत्तिलाई पराजीत गर्नुपर्ने बताउनु भयो ।

गैर आवासीय नेपाली संघभित्र केही अराजक ब्यक्तिहरुबाट आफूले जिते लोकतन्त्र, हारे परिणाम अस्वीकार भन्ने जस्ता अत्यन्त गलत अभ्याश भएको भन्दै अव यस्ता प्रबृत्ति बोकेका मानिसहरुलाई सदाका लागि सवक सिकाउनु पर्ने बताउनु भयो । अध्यक्ष थापाले प्रवासी नेपाली मञ्च अहिले बिश्वभर अधिवेशनसहित अघि बढेको भन्दै अव सवै राष्ट्रिय कमिटीहरुबीच काममा प्रतिस्पर्धा हुनुपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च मध्यपूर्वका इञ्चार्ज कमलमनी गुरागाई, अन्तर्राष्ट्रिय कमिटी सदस्य एवं युवा तथा खेलकुद बिभाग प्रमुख शालिकराम पन्त, प्रवासी नेपाली मञ्च अमेरिकाका सदस्य पुनम थापा, मध्यपूर्ब संयोजक प्रकाश कोइराला, सदस्य कमरेड यम लामा, प्रवासी नेपाली मञ्च बहराइनका सचिब बीरेन्द्र बुढाथोकी, नेपाली दूतावास साउदीका प्रथम सचिब टोपनारायण गिरीलगायत साउदी अरेबियामा क्रियासिल बिभिन्न राजनीतिक दलसँग आवद्ध प्रबास संगठनका नेताहरुले अधिवेशनको सफलताको शुभकामना दिनुभएको थियो ।

यसैबीच नवनिर्वाचित अध्यक्ष अमर श्रेष्ठलेअधिवेशन सफल पार्न भूमिका खेल्ने प्रमुख अतिथी, बिशेष अतिथीसहित सवैप्रति आभार प्रकट गर्नुभएको छ ।