जनता टाइम्स

२१ आश्विन २०७६, मंगलवार १३:५३

बुबा आउन ढिलाई भएपछि राष्ट्रपतिको हातबाट टीका जमरा ग्रहण गर्दै प्रधानमन्त्री


काठमाडौं, असोज २१

झापाबाट पिता मोहनप्रसाद ओली आउन ढिलाई भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट टीका जमरा ग्रहण गर्ने हुनु भएको छ । बुबा मोहनप्रसाद गृहजिल्ला झापाबाट आउन ढिला भएका कारण प्रधानमन्त्रीले शुभ साइतमा टीका लगाउने चाहाना भने पुरा भएन ।

झापाबाट जहाजको उडान ढिलो भएकोले प्रधानमन्त्रीका बुबा टीकाको शुभसाइतमा काठमाडौं आउन सक्नु भएन । प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहानको उडान सरेर दिउँसो १२ः४०मा रहेको थियो । बुबा आउन ढिला भएपछि प्रधानमन्त्रीले निर्धारित कार्यतालिका अनुसार राष्ट्रपति विद्यादेवि भण्डारीको हातबाट टीका ग्रहण गर्दैहुनुहुन्छ ।

पहिला राष्ट्रपतिको हातबाट टीका जमरा ग्रहण गर्ने र बुबा आइपुगेपछि बुबाका हातबाट प्रधानमन्त्री निवास बालुवाटारमा टीका ग्रहण गर्ने सचिवालयले बताएको छ । प्रधानमन्त्रीले दिउँसो २ बजेदेखि मन्त्रीसहित विशिष्ट तथा विभिन्न पार्टीका नेतालाई टीका लगाइदिने योजना बनेको छ। पार्टीका कार्यकर्ता तथा सर्वसाधरणलाई अपराह्न ४ बजेदेख बेलुका सात बजेसम्मको समय तोकिएको छ ।