जनता टाइम्स

४ श्रावण २०८१, शुक्रबार १८:२२

मकवानपुरका २ सय ५७ एसईई उत्कृष्ट विद्यार्थी सम्मानित


हेटौँडा, ४ साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुरले शुक्रबार एक समारोहको आयोजना गरी एसईई परीक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा बिद्यालयलाई सम्मान गरेको छ । कार्यक्रममा जिल्लाका ३७ विद्यालयका २ सय ५७ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । यी सबै विद्यार्थीहरूले एसईई परीक्षामा ३.६ भन्दा माथिको जीपीए हासिल गरेका थिए ।

४.० जीपीए प्राप्त गरी जिल्लामै सर्वोत्कृष्ट नतिजा हासिल गरेकी बालजागृती इङ्गलिस सेकेण्डरी बोर्डिङ स्कुलकी छात्रा रितिका छत्कुली र छात्रतर्फ ३.९५ जीपीए नतिजा हासिल गरेका हरि चन्द्र मुखियालाई विशेष सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा बालजागृती बोर्डिङका ३४ जना, आधुनिक राष्ट्रिय माविका ३० जना, नवोदय शिशु सदनका २२ जना, भुटान देवी माविका १५ जना, ज्ञानदिप माविका १५ जना, हेटौँडा एकेडेमीका ८ जनालगायत अन्य विद्यालयका विद्यार्थीहरू रहेका थिए ।

प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीले समग्र देशमा एसईईको नतिजा कमजोर रहेको अवस्थामा पनि मकवानपुरको नतिजा सन्तोषजनक रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई आफ्नो योग्यता र रुचि अनुसार उच्च शिक्षाको क्षेत्र छनौट गर्न सुझाव दिनुभयो । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले स्थानीय सरकारले शिक्षा सुधार योजनासहित अगाडि बढिरहेको जानकारी दिनुभयो । उहाँले शिक्षामा राजनीतिकरण नगरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समारोहमा प्याब्सन बागमती प्रदेशका अध्यक्ष, राष्ट्रिय परीक्षा बोर्डका प्रतिनिधि, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लगायत विभिन्न शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । यस वर्षको एसईई परीक्षामा मकवानपुर जिल्लाबाट कुल ५ हजा ९ सय २५ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये २ हजार १ सय ६१ विद्यार्थी उत्तीर्ण भएका छन् भने ३ हजा ७ सय ४६ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।