काठमाडौं, ४ साउन । नेपाल खेलकुद महासंघले केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको बधाई तथा शुभकामना दिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर महासंघले प्रधानमन्त्री ओलीलाई बधाई तथा सफल र सुखद कार्यकालको शुभकामना व्यक्त गरेको हो । महासंघका अध्यक्ष पर्शुराम बस्नेतको नेतृत्वमा गएको महासंघको टोलीले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिएको महासंघका कोषाध्यक्ष तथा प्रवक्ता उज्वल सुवेदीले जानकारी दिनुभयो ।
सरकारले तीन सय दिनभित्रै कीर्तिपुरमा रहेको क्रिकेट रङ्गशालालाई फ्लड लाइटसहित अत्याधुनिक सुविधा सम्पन्न बनाउने निर्णय गरेकोमा महासंघले धन्यवाद ज्ञापन गरेको छ । लामो समयदेखि क्रिकेट रङ्गशालामा फ्लड लाइट जडानसहित सुविधा सम्पन्न बनाउनु पर्नेबारे सरकारलाई ध्यानाकर्षण गर्दै आएकोमा प्रधानमन्त्री ओलीले सो कार्यलाई सम्पन्न गर्न लिनुभएको पहलकदमीको स्वागत गर्दै महासंघले धन्यवाद व्यक्त गरेको हो ।
बस्नेतले प्रधानमन्त्री ओलीको कार्यकालमा खेल क्षेत्रसहित समग्र राष्ट्रको विकास निर्माणमा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नुभयो । ओलीले प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यभार ग्रहण गरेको दिनमा नै सरकारको तर्फबाट गरेको पहिलो निर्णयले आम जनसमुदाय तथा खेलकुद क्षेत्रमा सरकारप्रति आशा र विश्वासको सकारात्मक सन्देश प्रवाह भएको उहाँले बताउनुभयो ।
बधाई तथा शुभकामना कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा खेलकुद महासङ्घ इञ्चार्ज कर्ण थापालगायत खेलकुद महासंघका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्