अव कुनै पनि चुनावमा माओवादीलाई साथ नलिने र चुनावी गठबन्धन नगर्ने सर्तमा कांग्रेस र एमालेको सरकार बनेको हो, अव हामी दुवै दलको साझा अठोट माओवादीसहित कुनै पनि दलसँग चुनावी सहकार्य गरिन्न भन्ने हो
कतार, साउन ५ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई साथ नदिने सहमतिसहित नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बनेको खुलासा गर्नुभएको छ ।
दोहारमा शुक्रवारबाट सुरु भएको प्रवासी नेपाली मञ्च कतारको सातौं अधिवेशनको उदघाटन समारोहमा बोल्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले माओवादीलाई दुवै दलले चुनावी गठबन्धन नगर्ने सहमति गरेर दुई ठूला दलबीच सहकार्य अघि बढाइएको खुलासा गर्नुभएको हो ।
‘अव कुनै पनि चुनावमा माओवादीलाई साथ नलिने र चुनावी गठबन्धन नगर्ने सर्तमा कांग्रेस र एमालेको सरकार बनेको हो, अव हामी दुवै दलको साझा अठोट माओवादीसहित कुनै पनि दलसँग चुनावी सहकार्य गरिन्न भन्ने हो,’ पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो ।
पोखरेलले राजनितीक स्थायित्वको लागि कांग्रेस र एमालेको सरकार बनाइएको हो भन्ने तथ्यलाई बुझ्न सवै प्रवासी नेपालीलाई आग्रहसमेत गर्नुभयो । ‘राजनीतिक स्थायित्व चाहियो, जनतामा छाएको चरम निरासा चिर्नुपर्यो, बिकासका गति दिनुपर्यो भनेर नै कांग्रेस र एमाले मिल्ने निर्णय गरिएको हो । यो देशमा हुँदा हुँदा २० सिटेलाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्त दलहरूले नयाँ सरकार गठन गर्नुपरेको हो । यो यथार्थलाई सवैले बुझन जरुरी छ,’ पोखरेलले भन्नुभयो ।
बरिष्ठ उपाध्यक्ष पोखरेलले हैसियत नहुँदा पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुलबुल गर्दा हुँदा खाँदाको सरकार ढलेको पनि बताउनु भयो । ‘प्रचण्डको बेइमानीले सीमा नाघ्यो । जतिखेर पनि ढाँटछल गर्ने, कांग्रेस देखाएर एमाले र एमाले देखाएर कांग्रेससँग खेल्ने अनि राज्यको स्रोत साधन आफ्नो परिवारको अनुकुल खर्च गर्ने जस्तो हर्कत भयो । उनकै बेइमानीले बाम सरकार ढल्यो,’ बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ’भन्नलाई बाम भन्ने काम के गर्ने के गर्ने ? उनकै कारण बाम सरकार गिरेको हो ।’
बरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वका बनेको बर्तमान सरकारले मुलुकमा सुधारको काम अघि बढाइसकेको भन्दै अव निरासा चिरेर जनतामा आसा जगाउने बताउनु भयो । यस्तै पोखरेलले कतारबाट भित्रिएको रेमिट्यान्सलाई कसरी व्यवस्थित गर्ने भन्ने चुनौतीको सही ब्यवस्थापन अहिलेको आवश्यकता रहेको धारणा पनि राख्नुभयो । पाखरेलले रेमिट्यान्सको पैसा उत्पादनमा लगाउनु पर्नेमा एमाले प्रष्ट रहेको जानकारी पनि दिनुभयो ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि बिश्वभर छरिएर रहेका प्रवासी नेपालीमा आसाको सञ्चार भएको भन्दै बिगतदेखि उठाउँदै आएको माग सम्बोधनका लागि उपयुक्त समय रहेको बताउनु भयो ।
उहाँले गैर आवासीय नागरिकतामा रहेको समस्या र प्रवासबाटै मतदानको ब्यवस्थाको बिषयमा सम्बोधन गरी प्रवासमा रहेका नेपालीको लगानी मातृभूमिका गर्ने बातावरण बनाउन समेत बरिष्ठ उपाध्यक्ष पोखरेलमार्फत एमाले नेतृत्वको ध्यानाकर्षण गराउनु भएको छ । अध्यक्ष थापाले प्रवासको समस्यामा एमाले नेतृत्व र सरकारले गम्भीरतापुर्वक लिएर समाधान दिनुपर्ने धारणासमेत राख्नुभएको थियो ।
प्रवासी नेपाली मञ्च कतारका संयोजक अफ्सर खानको अध्यक्षतामा सम्पन्न अधिवेशनको उदघाटन समारोहमा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय सदस्य उमाशंकर अगरिया, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी उपसचिव चानक पोखरेल, मध्यपूर्व इञ्चार्च कमलमणि गुराँगाई, मध्यपूर्व संयोजक प्रकाश कोइराला, प्रेस चौतारी नेपालका सचिव बिष्णु तारुकेलगायतका बक्ताहरुले आफ्नो धारणा राख्नुभएको थियो ।
कुल ३ सय २१ जना प्रतिनिधि सहभागी अधिवेशनको बन्द शत्रले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्