जनता टाइम्स

२३ आश्विन २०७६, बिहीबार ०९:००

नेपाल वरियतामा १ सय १८ स्थान माथि रहेको अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै


काठमाडौं, असोज २३

विश्वकप फुटबलको छनोट अन्तर्गत नेपालले आज बलियो टोली अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । सन् २०२२ मा हुने विश्व कपका लागि नेपालले छनोटको दोस्रो चरण अन्तर्गत, अष्ट्रेलिया विरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।

क्यानबेरास्थित जिआइओ रंगशालामा नेपाल र अष्ट्रेलिया बीचको खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ । सिड्नीमा ५ दिनसम्म प्रशिक्षण गरेर नेपाली टोली मंगलबार नै क्यानबेरा पुगिसकेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालिनले विश्वकप छनोटको खेलमा अष्ट्रेलियासँग प्रतिस्पर्धाका लागि आफूहरु पूर्णरुपमा तयार रहेको बताएका छन् ।

अष्ट्रेलिया फिफा वरियतामा नेपाल भन्दा १ सय १८ स्थान माथि रहेको छ । नेपाली टोलीलाई समर्थन गर्नका लागि सिड्नी, मेलबर्न, ब्रिसबन, एडिलेड लगायतका शहरहरुबाट करीब ९ हजारले सहभागिता जनाउने विश्वास लिइएको छ । अष्ट्रेलियाको तर्फबाट कप्तान मार्क मिलिघनको नेतृत्वमा टीम मैदानमा उत्रने छ भने नेपालको तर्फबाट कप्तान किरण चेम्जोङको नेतृत्वमा स्ट्राइकर बिमल घर्तीमगर, रोहित चन्द लगायतका खेलाडीहरु मैदानमा उत्रदैछन् ।